प्रदेश ७ को राजधानी– कतै स्वागत, कतै आन्दोलन



धनगढी १२ असोज ।  संसदीय समितिले गरेको प्रदेश ७ को राजधानी सिफारिसको कतै स्वागत त कतै विरोध भइरहेको छ । बिहीबार कैलालीको गोदावरी नगरपालिकाका बासिन्दाले अत्तरियामा खुसियाली मनाए भने धनगढीका बासिन्दाले बन्द गरेर विरोध जनाए ।संसदीय सुझाब समितिले गोदावरीलाई राजधानीका लागि सिफारिस गरेकामा स्थानीय बासिन्दाले स्वागत गर्दै र्‍याली निकाले । राजनीतिक दलका नेता, कार्यकर्ता, व्यापारी, सर्वसाधारण र्‍यालीमा सहभागी थिए ।

गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले प्रदेशकै प्रवेशद्वार र सबै जिल्लाको केन्द्र भएकाले राजधानीका लागि गोदावरी नै उपयुक्त भएको बताए । ‘उपयुक्त भएर नै समितिले सिफारिस गरेको हो । प्रदेश सभाले पनि सिफारिसअनुसार गोदावरीलाई नै राजधानी बनाउने निर्णय गर्नुपर्छ,’ उनले भने ।

धनगढीमा विरोध
बिहीबार कैलालीकै धनगढीका बासिन्दाले राजधानी सार्न लागेको विरोधमा हड्ताल गरेका छन् । उनीहरूले बजार, यातायात, शिक्षण संस्था बन्द गरे । त्यही क्रममा बिहान र बेलुकी प्रदर्शन पनि गरेका छन् । प्रदर्शनको कांग्रेसका स्थानीय नेता, कार्यकर्ताले अगुवाइ गर्दै आएका छन् ।

धनगढीलाई नै स्थायी राजधानी कायम गरिनुपर्ने उनीहरूको माग छ । ‘धनगढीमा संरचना निर्माणमा करोडौँ खर्च भइसकेको छ । त्यसैले, यहाँबाट राजधानी सार्नुको औचित्य छैन,’ आन्दोलनको अगुवाइ गरिरहेका हरि रेग्मीले भने । प्रदेश सभाले राजधानी सार्नुको औचित्य पुष्टि गर्नुपर्ने उनको भनाइ छ । धनगढीलाई प्रदेश राजधानी कायम नगरेसम्म आन्दोलन जारी रहने नेपाल तरुण दलका केन्द्रीय प्रतिनिधि अमृत बिसीले बताए ।

दिपायलमा पनि प्रदर्शन
प्रदेश सभाले गोदावरीलाई राजधानी कायम गर्ने तयारी गरेपछि डोटीको दिपायल र सिलगढीमा पनि विरोध प्रदर्शन गरिएको छ । बिहीबार स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । पिपल्ला बजारमा राँके जुलुस प्रदर्शन गरिएको छ ।

दिपायललाई राजधानी नबनाएसम्म आन्दोलन नरोक्ने उद्योग वाणिज्य संघ, डोटीका पूर्वअध्यक्ष नरेन्द्र खड्काले बताए । नागरिक समाजको नेतृत्वमा रहेको आन्दोलनमा राजनीतिक दल र स्थानीय तहका जनप्रतिनिधिको पनि समर्थन रहेको छ ।

भौगोलिक र सुरक्षाका दृष्टिले पनि दिपायल नै प्रदेशको राजधानी उपयुक्त भएको खड्काको भनाइ छ । ‘कुनै पनि आधारमा कैलालीमा राजधानी उपयुक्त छैन । तराईमा राजधानी राख्दा पहाडका सात जिल्लालाई अन्याय हुन्छ,’ उनले भने । तत्कालीन क्षेत्रीय सदरमुकाम हुनु, सबै जिल्लालाई पायक पर्ने भौगोलिक अवस्थिति तथा राजधानीका लागि पर्याप्त संरचना रहेकाले दिपायललाई नै राजधानी कायम गरिनुपर्ने उनीहरूको माग छ ।

मेयरविरुद्ध सांसदको उजुरी
राजधानीका विषयमा भएको विरोध प्रदर्शनमा धनगढीका मेयर नृप वडले ‘सांसदहरूलाई आगो लगाउने’ धम्की दिएको भन्दै २२ सांसदले कैलाली जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । उनीहरूले मेयर वडलाई पक्राउ गरेर मुलुकी अपराध संहिता २०७४ अनुसार कारबाही गर्न प्रमुख जिल्ला अधिकारीसँग माग गरे ।

मेयर वडको अभिव्यक्ति पश्चात् आफूहरूलाई केही व्यक्तिले पिछा गर्ने, निगरानी गर्ने गरेको बताउँदै प्रशासनसँग सुरक्षाको समेत माग गरेका छन् । सांसदहरूले मेयर वडको अभिव्यक्तिको भिडियोलगायत प्रमाणहरू पेस गरेका छन् । मेयर वडले ज्यान मार्ने, आक्रमण गर्नेजस्ता धम्की दिएकाले प्रमुख जिल्ला अधिकारीसमक्ष कारबाहीको माग गर्दै संयुक्त रूपमा उजुरी दिएको सांसद महेशदत्त जोशीले बताए ।

त्रुटि हुन गयो : वड
मेयर वडले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आक्रोशमा आफूबाट त्रुटि भएको स्विकारेका छन् । राजधानीबारे सुझाब नलिएर धनगढीका बासिन्दाको भावनामा चोट पुर्‍याउने कार्य भएकाले आवेग र आक्रोशमा आफूबाट केही गलत शब्द निस्कन गएको विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘नगरवासीको उचित आन्दोलनप्रति मेरो ऐक्यबद्धता रहेको अनुरोध गर्दै अन्यायप्रतिको आक्रोशमा भएको त्रुटिप्रति आत्मसमीक्षा गर्दछु,’ मेयर वडले विज्ञप्तिमा भनेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्