चितुवाको छाला र दाह्रासहित दुई जना पक्राउ



बाँके : बाँकेमा चितुवाको छाला र दाह्रासहित दुई जना पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका–१ गाभरस्थित ६ नम्बर होमस्टेको कटेजबाट दुई वटा चितुवाको छाला र दाह्रासहित दुई जना पक्राउ परेका हुन् ।  पाँच नम्बर प्रदेश प्रहरी अनुसन्धान ब्यूरोको टोलीले बिहीबार राति उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बर्दिया बाँसगढी–१ का २६ वर्षीय चन्दन नेपाली र २४ वर्षीय कृष्ण बादी रहेका छन् ।

 

चन्दनको झोलाबाट चितुवाको जुँगा, नङ र खुरसहितको १ सय ४ इन्च लम्बाई भएको छाला तथा ६ वटा दाह्रा बरामद भएको छ ।  कृष्णको झोलाबाट जुँगा, नङ र खुरसहितको ९० इन्च लामो छाला बरामद भएको ५ नम्बर प्रदेश प्रहरी अनुसन्धान ब्यूरोका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए ।

प्रहरी निरीक्षक पौडेलले दुवै चितुवा गोली प्रहार गरी मारिएको हुन सक्ने बताए। प्रहरी निरीक्षक पौडेलले भने, ‘दुई वटै छालामा बुलेट लागेको प्वाल भेटिएको छ । पक्राउ परेकाहरू पेशेवर चोर शिकारी हुन् वा बन्यजन्तुको अङ्ग÷प्रत्यङ्गका अवैध कारोबारी हुन् भन्ने अनुसन्धानपछि खुल्ला ।’

पक्राउ परेका दुवै जनालाई थप कारबाहीका लागि डिभिजन वन कार्यालय नेपालगञ्जको जिम्मा लगाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्