समाचार

माओवादी केन्द्रको सचिवालय बैठक आज पनि जारी

By थाहा अनलाइन

July 22, 2017

सैघाली खबर काठमाडौं, ७ साउन – नेकपा माओवादी केन्द्रको सचिवालय बैठक शनिबार सकिँदैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भर्खरै सुरु बैठकमा शनिबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादलले प्रश्नको जवाफ दिने कार्यसूची छ । गएको सोमबारदेखि चलिरहेको बैठकमा स्थानीय तहको चुनावको समीक्षा, भावी चुनावी रणनीति र सांगठनिक विषयमा छलफल भैरहेको हो । बैठकमा पार्टी भित्र गुटउपगुट बढेको भन्दै आरोप प्रत्यारोप भएको छ । नेकपा एकता केन्द्रबाट माओवादी बनेका नेताहरुले आफूहरुमाथि हतियार बोकेर विद्रोहमा नलागेका कारण पार्टीभित्र विभेद गरिएको र त्यसको जवाफ अझैसम्म पनि दिनुपरिरहेकोप्रति असन्तुष्टि जनाएका छन् । त्यस्तै बैठकमा अध्यक्ष प्रचण्ड निकट नेताहरुले यसअघि स्थगित गरिएको प्रचण्डपथलाई अब मुख्य कार्यदिशा मानेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । प्रचण्डपथ नहुँदा पार्टीलाई बाँध्ने फ्रेम नभएकाले अराजकता बढेको उनीहरुको दाबी छ ।