यी निर्दयी काका जसले आफ्नै भतिजको हत्या गरे



काठमाडौँ, १२ असोज । दोलखाका एक व्यक्तिले आफ्ना दाइको छोराको हत्या गरेका छन् । दोलखाको शैलुङ गाउँपालिका–८ भैंसेका १० वर्षीय बालक कुशल विकलाई उनका काका उमेशले हत्या गरेका हुन् ।

कुशल हराएको १४ दिनपछि उनको शव फेला परेसँगै काकाले हत्या गरेको खुलेको हो । काका उमेशले कसैलाई केही नभनी घरमै बस्ने, काम गर्ने गर्दै आएका थिए । प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको जनाएको छ ।

भदौ २७ गते तीजको दिन नाच हेर्न भनेर घरबाट निस्किएका बालक कुशल वेपत्ता भएका थिए । बालक वेपत्ता भएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । प्रहरी, परिवार र स्थानीयको सहयोगमा बालकको व्यापक खोजी गरिए पनि फेला पार्न सकिएको थिएन । हराएको १४ दिनपछि बिहीबार कुशलको शव घर नजिकैको जंगलमा फेला परेको हो ।

कुशल त्यसदिन तीजको नाच हेर्न भनेर हिँडेको र काका उमेश आफ्नै कामले बजार जाँदा बीच जंगलका दुई जनाबीच भनाभन भएको र सोही क्रममा काका उमेशले भतिजको घाँटीमा समाएर अण्डकोशमा हानेर मारेको बताएको पक्राउ परेका उमेशलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

बाटोमा मारेपछि झण्डै २० मिटर परेको खोल्सामा शव हालेर स्याउला र माटोले पुरेको अवस्थामा भेटिएको थियो । घटनाको कारण पारिवारिक विवाद देखिएको प्रहरीले जनाएको छ । जग्गाको विषयमा उनीहरुको परिवारको बीचमा पटकपटक विवाद हुँदै आएको थियो ।

केही समय पहिला मात्रै उमेशले खुकुरीले काट्छु भन्दै डिँडेको भनेर प्रहरीमा उजुरी परेको थियो । उजुरीपछि प्रहरीले उनीहरुलाई मिलापत्र गरेर छाडेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्