कलाकारमाथि पनि सिन्डिकेट, को कलाकार कस्को कव्जामा ?



सैघाली खबर, १३ असोज ।

पहिलो चलचित्र नै इनिसियल हिट भएपछि नव नायक धिरज मगर ‘हट केक’ बनेका छन् । उनलाई लिएर फिल्म बनाउन आतुर छन् थुप्रै निर्माता-निर्देशक । तर, निर्देशक रेनशा वान्तवा राईको भनाईलाई विश्वास गर्ने हो भने धिरज अन्य ब्यानरका लागि तत्काल उपलब्ध नहुन सक्छन् । धिरजलाई आफूले आगामी दुई चलचित्रका लागि बुक गरिसकेको उनले दावी गरेकी छन् ।

कुृरा यति मात्र होइन । रेनशाले त धिरजको करिअरलाई आफूले गाइड गरिरहेको भन्दै आफ्नो अनुमतिमा मात्रै अरुले काम गराउन सक्ने संकेत गरिन् । उनले भनिन्, ‘धिरजका लागि मैले अभिभावकको भूमिका निर्वाह गरिरहेको छु । उसलाई चलचित्रको प्रशस्त अफर आइरहेको छ तर, कुन गर्ने र कुन नगर्ने भन्ने मैले गाइड गर्छु ।’

धिरजलाई ‘इन्टु मिन्टु लन्डनमा’ बाट ब्रेक दिएकी रेनशाले उनीमाथि एकाधिकार जमाउन खोजेको प्रष्ट देखिन्छ । धिरज कुनै बच्चा होइनन्, जसलाई हात समाएर हिँडाउनुपरोस, जसरी संगीतकार टंक बुढाथोकीले बाल गायक अशोक दर्जीलाई हिँडाइरहेका छन् । आफूलाई फिट हुने फिल्मको छनोट गर्न उनी सक्षम छन् । अभिभावकत्वका नाममा रेनशाले देखाएको एकाधिकारले धिरजलाई फाइदा पुग्ने देखिन्न ।

त्यसो त कुनै स्टारमाथि एकाधिकारको अभ्यास भएको यो पहिलो केस होइन । अहिलेका सर्वाधिक चर्चित नायक अनमोल केसीमाथि उनकै पिता भूवन केसीको एकाधिकार देखिन्छ । हुन त, भूवन अनमोललाई आफूले सल्लाह मात्र दिने तर निर्णय उनले आफै लिने बताउँछन् । तर, अनमोल होम प्रोडक्सनको फिल्ममा कैद भइरहँदा बाहिरी ब्यानरका फिल्मलाई थुप्रै खालका शर्तहरु राख्ने गरेका छन् । उनलाई लिएर काम गर्न चाहने धेरै मेकरको इच्छा अधुरो छ ।

नायक प्रदिप खड्कामाथि पनि केही समय अघिसम्म निर्माता सन्तोष सेनको नियन्त्रण रहेको चर्चा चलचित्र वृत्तमा चल्ने गथ्र्यो । अहिले प्रदिप सेनको ब्यानरभन्दा बाहिर निस्किएका छन् । तर, रमाइलो कुरा उनै प्रदिप अहिले नायिका जसिता गुरुङको अभिभावक बन्न खोजिरहेका छन् ।

जसिताले चलचित्र ‘लिलिबिली’मा काम गरेपछि प्रदिपसँग नजिक भएकी हुन् । मिलन चाम्सले चलचित्र बजारमा ल्याएकी जसिता अहिले प्रदिपलाई नसोधी कुनै चलचित्रमा काम गर्दिनन् भन्ने चर्चा चल्ने गरेको छ । जसिताले ‘लिलिविली’मा काम गरेको ६ महिनापछि प्रदिपकै लगानीमा बन्न लागेको ‘लभ स्टेशन’मा काम गर्नुले पनि यो चर्चामा बल पुर्‍याएको छ ।

जसितालाई लिएर चलचित्र बनाउन चाहेका केही ठूला ब्यानरका निर्माताले प्रदिपका कारण उनीसम्म पुग्न नसकेको गुनासो गरेका थिए ।
नायिका पूजा शर्मा पनि निर्देशक सुदर्शन थापाको चलचित्र बाहेक अरुमा काम गर्दिनन् । हुन त, उनी स्वयमेले पनि बर्षमा एउटा मात्र चलचित्रमा काम गर्ने बताइसकेकी छिन् । पूजा र सुदर्शनको यो यात्रा सफल पनि भैरहेको छ ।

तर, पूजालाई लिएर अरु निर्माताले चलचित्र बनाउन सकेका छैनन् । यसमा सुदर्शन र पूजा दुबैको सोच मिलेको छ । पूजा पनि आफै चलचित्र निर्माण गर्ने र खेल्ने योजनामा छिन् । यही भएर पनि उनलाई चलचित्रमा खेलाउन अरु निर्मातालाई सजिलो छैन । सुदर्शनले पनि पूजाविना चलचित्र बनाउनै छोडिसके ।

आफूलाई ब्रेक दिने मेकरप्रति कलाकारहरु ‘लोयल’ हुनु स्वभाविक हो । तर, मेकरहरुले यसको गलत फाइदा उठाउनु उचित हूँदैन । आफू फलानोको ‘गडफादर’ भन्दै चलेका कलाकारलाई नियन्त्रणमा लिनुले ती कलाकारको करिअरलाई नै नोक्सानी पुर्‍याउँछ । रेनशादेखि भुवन केसीसम्मले सोच्नुपर्ने कुरा हो यो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्