निर्मला हत्या प्रकरणः तीनै जनाको डिएनए मिलेन



सैघाली खबर, १४ असोज ।
निर्मला पन्तको बलात्कार प्रकरणमा विवादित बनेका एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए परीक्षणको रिपोर्ट आएको छ । तर, तीनै जनाको रिपोर्ट मेल खाएन । कञ्चनपुरका एसपी कुबेरबहादुर कठायतले भने, ‘डीएनए रिपोर्ट आएको छ तर, मेल खाँदैन ।’

एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए टेष्ट गरिएको थियो । कञ्चनपुबासीले सुरुदेखि नै एसपी विष्टका छोरा र मेयरका भतिजमाथि छानविन गर्न माग गरेका थिए । तर, लामो समयसम्म उनीहरुलाई अनुसन्धानको दायरामा ल्याइएन ।

एसपी विष्टले पनि अनुसन्धानमा लापरवाही गर्नुका साथै प्रमाण नष्ट गर्न भूमिका खेलेको सरकारी छानविन समितिले जनाएको छ । छानविन समितिकै सिफारिसका आधारमा एसपी विष्टलाई निलम्बन गरिएको छ ।

यसअघि प्रहरीले मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको दिलिपसिंह विष्टको पनि डीएनए रिपोर्ट नेगेटिभ आएको थियो । साउन १० गते साथी रोशनी बमको घर गएकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट विहान उखुबारीमा शव भेटिएको थियो । तर, उनको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्