शक्तिशाली भूकम्पका कारण ८३२ को ज्यान गयो



सैघाली खबर, १४ असोज ।

इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार आएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण ज्यान जानेको संख्या ८ सय ३२ पुगेको छ । स्थानीय अधिकारीहरुले आइतबार दिएको पछिल्लो विवरण अनुसार मृत्यु हुनेको संख्या ८ सय ३२ पुगेको र मृतको संख्या अझै बढ्ने बताइएको छ ।इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले पालु शहरका भित्री इलाकासम्म उद्धारकर्ताहरु अझै पुग्न बाँकी रहेकाले मृतकको संख्या ‘हजार’ भन्दा बढी हुनसक्ने बताउनुभयो ।

मृत्यु भएकामध्ये अधिकांश पालु नगरका स्थानीयबासी रहेका छन् । अरु सयौँ घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरुको भनाइ छ । अस्पतालका भवनहरूमा पनि क्षति भएकाले घाइतेहरूको उपचार खुल्ला ठाउँमा त्रिपाल टाँगेर भइरहेको छ । कतिपय मृत्यु भएकाहरुको शव सडकमै छरिएको अवस्थामा भेटिएको छ । भूकम्प र त्यसपछिको सुनामीका कारण पाँच सय जनाभन्दा बढी घाइते भएको जनाइएको छ ।

इण्डोनेशियाको तटीय शहर पालुमा शुक्रबार ७।५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प आएसँगै आएको सुनामीले व्यापक क्षति गरेको छ ।प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयमसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका कामहरु पनि गरिरहेका छन् । पालु नगरका भग्नावशेषहरूमा कयौँ मानिसहरू हराइरहेको अनुमान गरिएको छ ।

भूकम्प र सुनामीले बस्ने घरहरु, विद्यालय, मस्जिद, अस्पताल, होटल र पसललगायतका भौतिक संरचनाहरुमा क्षति गरेको छ । अधिकारीहरुले अझै पनि शक्तिशाली परकम्पहरू आउनेक्रम जारी रहेको बताएका छन् । यसैवर्ष, लोम्बोकमा आएको शक्तिशाली भूकम्पमा परी ५ सय ५० भन्दा बढी मानिस मारिएका थिए । इन्डोनेसियामा डिसेम्बर २००४ मा गएको ९।१ म्याग्नीच्यूडको भूकम्प र सुनामीका कारण इन्डोनेसियामा मात्र १ लाख ६० हजारभन्दा बढीको मृत्यु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्