भदौ महिनामा मात्रै सरकारले बाँड्यो एक करोड ६२ लाख ?



सैघाली खबर, १८ असोज ।

सरकारले विभिन्न व्यक्तिका नाममा भदौ महिनामा झण्डै २ करोड रुपैयाँ बाँडेको छ । सरकारले विभिन्न व्यक्ति र संस्थाका नाममा आर्थिक उपचार सहयोग, भ्रमण भत्ता लगायतका शीर्षकमा एक करोड ६२ लाख ९५ हजार ५ सय ५५ रुपैयाँ वितरण गरेको छ । अर्थ मन्त्रालयका अनुसार भदौ महिनामा  विभिन्न शीर्षकमा ३३ लाख ६१ हजार देखि ३२ हजार रुपैयाँ सम्म व्यक्ति र संस्थालाई वितरण गरिएको छ  ।

सबैभन्दा धेरै रकम नेपाली कांग्रेसका नेता नरहरि आचार्यको उपचार खर्चबापतको रकम छ । सरकार आचार्यको उपचार गर्दा लागेको खर्चका लागि ३३ लाख ६१ हजार ५ सय ४५ रुपैयाँ निकाशा गरेको छ । यस्तै रामेछापका भिमबहादुर श्रेष्ठको उपचारका लागि १० लाख,  तनँहुकी इन्दिरा तिमिल्सिनालाई ७ लाख, नुवाकोटका अर्जुन पाण्डेका हकवालालाई ३ लाख, बर्दियाका गयाप्रसाद चौधरी र रुपन्देहीका बेदप्रसाद रेग्मीलाई १-१ लाख रुपैयाँका दरले उपचार खर्च दिइएको छ ।

यस्तै प्रदेश र स्थानीय तहको चुनावका क्रममा घाइते भएकाहरुको उपचारको लागि २७ लाख ६० हजार रुपैयाँ दिइएको छ । प्रमुख निर्वाचन आयुक्तसहितको प्रतिनिधिमण्डललाई बंगलादेशमा हुने कार्यक्रममा सहभागी हुन जाँदा पकेट खर्च शीर्षकमा एक लाख ६६ हजार ८ सय ८० रुपैयाँ निकाशा भएको छ । नेपालको संविधान २०७२ नामक ३ दिने अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका लागि  दक्षिण एसिया गुठी र काठमाडौं युनिभर्सिटी अफ ल लाई ३० लाख रुपैयाँ दिइएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापालाई डीएफआईडीको कार्यक्रममा सहभागी हुन जाँदा भैपरी खर्च भनेर ३२ हजार ९ सय ५० रुपैयाँ सरकारले दिएको छ । यस्तै हेटौंडाका श्रीचन्द्र शर्मालाई आर्थिक सहायता स्वरुप १० लाख रुपैयाँ दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

कञ्चनपुमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवार र आन्दोलनमा ज्यान गुमाएका सन्नी खुनाका परिवारलाई जनही १०-१० लाख रुपैयाँका दरले रकम निकाशा भएको छ । यस्तै युवराज खड्कालाई ३ लाख र  महोत्तरीका हरिशंकर मिश्रालाई ५ लाख रुपैयाँ सरकारले दिएको छ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित चीनमा जाने कार्यक्रमको हवाई भाडा, भैपरी खर्च, सहसचिव र उपसचिवको दैनिक भत्ताको लागि ३ लाख ४३ हजार ९ सय २० रुपैयाँ सरकारले दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्