लुटिएको नगद र मोटरसाइकल बरामद



लहान। सिरहा नगरपालिका–३ स्थित लच्का मखनाहाबाट व्यवसायीसँग लुटिएको मोटरसाइकल र नगद प्रहरीले गए राति बरामद गरेको छ ।

सिरहा नगरपालिका–१५ सुकचैन निवासी सञ्जय यादवले बुधबार दिउँसो रामजानकी मनि ट्रान्सफरको लागि लैजाँदै गरेको अवस्थामा मोटरसाइकल नम्बर नखुलेको तीन वटा मोटरसाइकलमा आएका चार/पाँच जना अपरिचित व्यक्तिले बाटो छेकी बिआर ३२ भि १५७० नम्बरको मोटरसाइकल तथा रु नौ लाख ५० नगद लुटेका थिए ।

सो घटना भएको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका–२१ लकडीगोठस्थित सडक नजिकको खोल्सामा लुटिएको मोटरसाइकल र सिटमुनि रिन्ज राख्ने ठाउँबाट उक्त नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्