अन्तर्राष्ट्रिय

रुसी गुप्तचर निकायले साइबर हमला गरेको आरोप

By थाहा अनलाइन

October 04, 2018

ब्रिटिश सरकारले विश्वभरका राजनीतिक, व्यापारिक, सञ्चार र खेल संगठनहरूमा भएको साइबर हमलाका लागि रुसको सैनिक गुप्तचर निकाय जीआरयू जिम्मेवार भएकोमा आफू विश्वस्त रहेको बताएको छ ।

ब्रिटिश अधिकारीहरूको भनाइमा फ्यान्सी बेयर नाम गरेको समूहले लागु औषध प्रयोग विरोधी निकाय वर्ल्ड एन्टी डोपिङ एजेन्सी (वाडा) को कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच अर्थात ह्याक गरेर खेलाडीहरूका गोप्य दस्तावेजहरू चुहाएको हो ।

त्यो समूहले इन्टर्नेट मार्फत फिसिङ गरेर पासवर्डहरू चोरी गरेको आरोप ब्रिटिश अधिकारीहरूको छ ।

उनीहरूका अनुसार त्यही समूहले गत वर्ष युक्रेनको किएभको मेट्रो प्रणाली र ओडेसाको विमानस्थलको प्रणालीमा साइबर हमला गरेको थियो ।

त्यो समूहले सन् २०१६ मा अमेरिकी डिमोक्र्याटिक न्याशनल कमिटिका सूचनाहरू समेत चुहाइदिएको ब्रिटिश अधिकारीहरू बताउँछन् ।

यो वर्षको सुरुमा सोल्जबरीमा रुसी जासुस सेर्गेइ स्क्रिपाललाई स्नायु विष दिने कार्यमा पनि जीआरयूकै हात रहेको आरोप लगाइएको छ ।

बीबीसीका सुरक्षा संवाददाता भन्छन् ब्रिटेनका गुप्तचर निकायका अधिकारीहरूले पहिलो पटक साइबर हमलाको दोष जीआरयूमाथि लगाएका हुन् ।

उनका अनुसार फ्यान्सी बेयर जस्ता समूहबारे धेरैलाई जानकारी छ तर अन्य त्यस्ता समूहबारे धेरै जानकारी उपलब्ध छैन ।