‘को बन्छ करोडपति’ आगामी नोभेम्बरबाट



काठमाडौँ । गायन रियालिटी शो नेपाल आइडल र डान्स रियालिटी शो बुगीवुगीको सफलतापछि एपीवान एचडी टेलिभिजनले अर्को विश्वचर्चित टेलिभिजन रियालिटि शो को नेपाली संस्करण सुरु गर्ने भएको छ।
who wants to be a millionaire को नेपाली संस्करण ‘को बन्छ करोडपति’ आगामी नोभेम्बर महिनाबाट एपीवान एचडी टेलिभिजनमा प्रसारण हुने भएको हो ।

कार्यक्रममा ‘कौन बनेगा करोडपति’ का प्रस्तोता भारतीय अभिनेता अमिताभ बच्चनले ‘को बन्छ करोडपति’ कार्यक्रमको सफलताका लागि नेपाली भाषामै दिएको शुभकामनाको भिडियो सन्देश पनि प्रसारण गरिएको थियो ।

यो कार्यक्रमका लागि बिहीबार एपीवान टेलिभिजन व्यवस्थापन र प्रायोजक कम्पनीहरुबीच होटेल याक एन्ड यतिमा सम्झौता भएको छ । नेपालका चर्चित नायक राजेश हमाल प्रस्तोता रहने यो कार्यक्रमको स्पोन्सरका रुपमा कोकाकोला, सिभिल बैंक, हिरो, इन्डिका हेयर कलर, बाल्ट्रा होम एप्लाइन्स, स्विट द्याट फिड्स, एजुकेसन पार्क, इन्चान्टेयर रहेका छन् ।

कार्यक्रममा बोल्दै अन्नपूर्ण मिडिया नेट्वर्कका प्रबन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेलले यो कार्यक्रम अन्तर्राष्ट्रियस्तरको हुने भएकाले दर्शकले भरपुर मनोरञ्जनसँगै ज्ञान पनि लिने बताए ।

कार्यक्रममा प्रस्तोता रहेका नायक राजेश हमालले नेपाली संस्करणमा यो कार्यक्रम आउँदा आफू खुसी भएको बताउँदै नेपाली दर्शकहरुले फरक स्वाद पाउने पनि बताए ।

‘यो खेल मात्रै होइन, यसले नेपाली जनसमुदायको एकता र पहिचान पनि स्थापित गर्छु, हमालले भने, ‘यो अन्तर्राष्ट्रियस्तरको कार्यक्रम हो ।’

त्यसैगरी को बन्छ करोडपतिका निर्देशक सुरेश पौडेलले उमेर, भूगोल र लैङ्गिक हरेक हिसाबले यस कार्यक्रमलाई समावेशी बनाइने जानकारी दिए । उनले यो कार्यक्रम नोभेम्बरको दोस्रो सातादेखि प्रसारणमा आउने पनि जानकारी दिए ।

को बन्छ करोडपति कार्यक्रम उत्पादक संस्थ एसआरबिएन मिडियाका सीईओ विपिन आचार्यले धन्यवाद दिँदै विश्वचर्चित कार्यक्रम नेपालमा ल्याउन सकेकोमा खुसी प्रकट गरे ।

डेभिड व्रिक्स, माइक ह्वाइटहिल र स्टेभेन नाइटले सुरु गरेको who wants to be a millionaire प्रसारणमा ल्याउने नेपाल १ सय ६१ औँ देश हुनेछ ।

बेलायतमा सन १९९८ सेप्टेम्बर ४ मा सुरु भएको who wants to be a millionaire कार्यक्रम भारतमा चार भाषामा प्रसारण हुने गर्दछ । बलिउडका विख्यात नायक अमिताभ बच्चनले सञ्चालन गर्ने ‘कौन बनेगा करोडपति’ नेपालमा पनि धेरैले हेर्ने कार्यक्रम मध्येमा पर्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्