चाउमिन उद्योगको अनुगमन– एउटा उद्योग बन्द, ससमा प्रयोग गरिने एसिड जस्तै पदार्थ भेटियो



दाङ, १८ असोज । घोराही उपमहानगरपालिकाको अगुवाईमा घोराही क्षेत्रमा भएका विभिन्न चाउमिन उद्योगको अनुगमन गरिएको छ । उपमहानगरपालिका सहित उद्योग बाणिज्य संघ, प्रहरी र पत्रकारको टोलीले वडा नम्बर १३,१५,र १८ मा रहेको विभिन्न चाउमिन उद्योगको अनुगमन गरिएको हो ।
उपमहानगरका उपमप्रमुख तथा बजार अनुगमन समितिका संयोजक सीता सिग्देल न्यौपानेको नेतृत्वमा भएको अनुगमन टोलीले घोराही १७ गैरागाउँमा सञ्चालित ऋषिकेश चाउमिन उद्योगलाई तत्कालका लागि बन्द गराएको छ ।

अनुगमनका क्रममा घोराहीमा संचालित अधिकासं उद्योगले सस भन्दै एसिड जस्तै पदार्थ विक्री गर्दै आएको तथ्य फेला परेको हो । उक्त पदार्थ फेला परेपछि परिक्षणका लागि नमुना सङ्कलन गरिएको घोराही उप–महानगरपालिकाका उप –मेयर सिता न्यौपानेले जानकारी दिनुभयो ।

अनुगमनमा चाउमिन उद्योग दर्ता बिनै सञ्चालनमा गरेको , चाउमिन, ससहरुमा उत्पादन मिति, उपभोग मिति र मूल्य कुनै पनि कुराहरु उल्लेख नभएको पाईएपछि तत्कालका लागि उत्पादन र बिक्रिमा रोक लगाईएको उपप्रमुख न्यौपानेले जानकारी दिनुभएको छ ।

 

करिब ८० वटा बोतलमा तयार पारिएको ससहरुमा उत्पादन मिति, उपभोग मिति र मूल्यहरु उल्लेख नभएको र गोठमा चाउमिन उत्पादन गरेको फेला परेपछि उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर पर्ने देखिएकाले उक्त बस्तुहरु बिक्रि नगर्न र उत्पादन समेत नगर्न निर्देशन दिईएको न्यौपानेले जानकारी दिनुभयो ।

३ दिन भित्रमा पसल दर्ता गर्न र मापदण्ड अनुसार सञ्चालनमा ल्याउन टोलीले निर्देशन दिएको छ । त्यसैगरी टोलीले फुर्सेखाली जानेबाटोमा रहेको सहदेब चाउमिन, डुम्मरगाउँमा रहेको रोल्पाली चाउमिन उद्योग, रतनपुरमा रहेको न्यू राप्ती चाउमिन उद्योगको समेत अनुगमन गरेको छ ।

रोल्पाली चाउमिन उद्योगले मात्रै नगरपालिकामा दर्ता गराएको पाईएको छ भने अन्यले कर कार्यालय, घरेलु, उद्योग बाणिज्य संघमा दर्ता गरेपनि नगरपालिकामा दर्ता नगरेको फेला पारेपछि ३ दिन भित्रमा दर्ता गर्न र सरसफाईमा बिषेश ध्यान दिन टोलीले निर्देशन दिएको छ ।

टोलीले अन्य ३ किराना र २ डेरी पसलको समेत अनुगमन गरेको छ । ति पसलहरु उपमहानगरपालिकामा दर्तै बिना सञ्चालनमा रहेको भेटिएपछि ३ दिनमा दर्ता प्रकृयामा आउन भनिएको छ ।

अनुगमन टोलीमा वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, वडा नम्बर ६ का अध्यक्ष रेवबहादुर बुढाथोकी, वडा नम्बर १४ का सदस्य लछुमन बुढा, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, प्रहरी नायब निरिक्षक चुर्णबहादुर पुन, पत्रकार महासंघका सदस्य जनक नेपाली सहित उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेवतबहादुर बुढाथोकी, बाताबरण शाखा प्रमुख दर्गा खत्रीको समेत सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्