समाचार

निर्मला हत्या प्रकरणमा बम दिदीबहीनी र मामालाई अनुसन्धानको दायरामा ल्याउन माग

By थाहा अनलाइन

October 05, 2018

काठमाडौंः नेपाल मानव अधिकार संगठनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा बम दिदीबहिनी र निर्मलाका मामा तीर्थराज भण्डारीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ।

घटनाको स्थलगत अध्ययन प्रतिवेदन शुक्रबार काठमाडौंमा सार्वजनिक गर्दै संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले घटनाको सम्पूर्ण जानकारी भएको दावी गर्दै बम दिदीबहिनी र निर्मलाका मामा भनिने तीर्थराज भण्डारीलाई अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरे।

संगठनको प्रतिवेदनामा घटनाको बास्तविकतातर्फ सरकारको अनुसन्धान केन्द्रित नभएको दावी गर्दै एसपी डिल्लीराज विष्ट, बम दिदीबहिनी र निर्मलाका मामा भण्डारीले घटनाको यथार्थता लुकाउन चलखेल गरिरहेको पनि उल्लेख गरिएको छ।

संगठनले घटनास्थल नजिकै रहेको नेपाली सेनाको व्यारेकलाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकारलाई सुझाव दिएको छ। उनीहरुसँग ठोस र प्रभावकारी अनुसन्धान नभएकै कारण निर्मला पन्त हत्याका दोषी पत्ता लगाउन नसकेको निष्कर्ष पनि संगठनको अनुगमन टोलीले निकालेको छ।

संगठनले सबै स्रोत, साधनको प्रयोग गरी हत्यारा पत्ता लगाउन र निर्दोषलाई यातना दिने कार्यमा संलग्न तथा गैरकानुनी रुपमा बल प्रयोग गरी जनधनको क्षति पु¥याउने प्रहरीमाथि कडा कानुनी कार्वाही गर्न पनि माग गरेको छ।