मुलपानीको जुवाघरमा प्रहरीको छापा, भागदौडमा दुईको मृत्यु



काठमाडौं । काठमाडौंको मुलपानीमा रहेको एक जुवा घरमा गएराति प्रहरीले छापा मारेको छ । प्रहरीले छापा मार्दा भागदौड गर्ने क्रममा दुई जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाले जानकारी दिएका छन ।

यस्तो भएको थियो घटना

कागेश्वरी(मनोहरा नगरपालिका मुलपानीस्थित तेण्डु शेर्पाको घरमा संगठित रुपमा जुवा खेलाउने गरेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट डिएसपी होविन्द्र बोगटीको नेतृत्वमा प्रहरीको टोली छापा मार्न गएको थियो ।

घरको पहिले तलामा चेन गेट लगाएर तेस्रो तलामा जुवा खेलाइने गरिएको रहेछ । माथि जानका लागि प्रहरीले चेनगेटको तल्चा फुटाउँदै गर्दा करीब ३० जनाको संख्यामा जुवातास खेल्दै गरेकाहरु भागाभाग गर्न थाले।

झ्यालबाट हामफालेर भाग्ने क्रममा दुई जना घरको आगनमा रहेको टिनको कटेरोमा टाउको बजारिएर गम्भीर घाइते भए । उनीहरुलाई प्रहरीले आफ्नै भ्यानमा हालेर उपचारका लागि ललितपुरको ग्वार्कोस्थित बीएन्डबी हस्पिटलमा लग्यो । हस्पिटलमा दुवै जनाको मृत्यु भयो ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भइ जोरपाटी बस्दै आएका सोमलाल तामाङ र ठेगाना नखुलेका सरोज घले रहेको बरिष्ठ प्रहरी उपरीक्षक लामाले बताए ।

प्रहरीले जुवा घरबाट एक महिलासहित २४ जनालाई नियन्त्रणमा लिएको छ । साथै तीन थान तास र एक थान९१६ओटा० कौडा, ४ लाख ५८ हजार २२५ रुपैयाँ नगद बरामद गरेको प्रहरीले जानकारी दिएको छ । ८ वटा मोटरसाइकल एक गाडी पनि प्रहरीको नियन्त्रणमा रहेको बरिष्ठ प्रहरी उपरीक्षक लामाले बताएका छन् । उनका अनुसार उनीहरु त्यहाँ रक्सी खाँदै जुवातास खेलिरहेका थिए । अन्नपुर्ण

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्