भद्रगोल’मा छक्का पञ्जा ३



सैघाली खबर, २० असोज ।

नेपाल टेलिभिजनबाट हरेक शुक्रबार प्रसारण हुँदै आएको हास्य श्रृंखला ‘भद्रगोल’मा यसपटक दर्शकले तीन जना नयाँ कलाकार देख्न पाउने भएका छन् । यस पटक भद्रगोलमा सिनेमा छक्का पञ्जा ३ को प्रचारको लागि कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र केदार घिमिरे पुगेका हुन् ।

हास्य श्रृंखला ‘तितो सत्य’पछि हास्य कलाकार जोडी दिपकराज गिरी र दीपाश्री निरौला चलचित्र निर्माणमा लागेका छन् । सिनेमा निर्माणमा लागेपछि उनीहरु श्रृंखलामा देखिएका छैनन् । यसपटक भने उनीहरुलाई दर्शकले ‘भद्रगोल’मा देख्न पाउने भएका छन् । गएकाे वर्ष पनि सिनेमाको प्रचारकै लागि निर्देशक तथा कलाकार दीपाश्री निरौला जिरे खुर्सानीको एक एपिसाेडमा पुगेकी थिइन् ।

तर उनी त्यहाँ एकलै पुगेकी थिइन् । यस पटक भने उनको साथमा दीपक पनि भएका कारण दर्शकले फरक स्वाद पाउने छन् । त्यस्तै भद्रगोलमा सिनेमाको प्रचारकै लागि कलाकार केदार घिमिरेको उपस्थितिले पनि दर्शकले केही नयाँपन महसुस गर्न पाउनेछन् । केदारकी श्रीमती सीता घिमिरे पनि भद्रगोलकी नियमित कलाकार हुन् ।

उनी यस श्रृंखलामा चन्द्रमुखीको भूमिकामा छिन् ।  यस हिसाबले केदार र उनकी श्रीमती सीतालाई पनि दर्शकले फेरि एक पटक पर्दामा एक साथ देख्न पाउनेछन् ।  यस अघि उनीहरुले मेरी बास्सैमा श्रीमान् श्रीमतीको भूमिका निर्वाह गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्