गाउँमा दशैको रौनक सुरु – मुगलान छिरेका घर फर्किदै



दाङ २१ असोज । दसैँ नजिकिँदै गर्दा गाउँमा दशैको रौनक सुरु भएको छ । धन कमाउँन मुगलान छिरेकाहरु विस्तारै घर फर्किन थालेका छन् । विशेष गरी प्रदेश नं. ५, ६ र ७ दूरपश्चिम तथा कर्णालीका बासिन्दा घर फर्किन थालेका छन् । दक्षिणी नाका कैलालीको गौरीफन्टा र पश्चिमी नाका कञ्चनपुरको गड्डाचौकीमा घुइँचो लाग्न थालेसँगै भारतीय सुरक्षाकर्मीले सताउन सुरु गरेको उनीहरूले गुनासो गरेका छन् ।

भारतका विभिन्न सहरमा काम गरिरहेका सुदूरपश्चिम तथा कर्णालीका बासिन्दाको एक सातादेखि सीमानाकामा घुइँचो लाग्न थालेको हो । गौरीफन्टा नाकाबाट मात्रै दैनिक सात–आठ सय नेपाली फर्किने गरेको सीमामा रहेको त्रिनगर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक पूर्ण बोगटीले बताए । ‘आजभोलि त बिहानैदेखि साँझसम्म लर्को हुन्छ,’ उनले भने ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा रोजगारीको अवसर छैन । जसले गर्दा यहाँका बासिन्दा कामको खोजीमा भारत जाने गर्छन् । उनीहरूको आधिकारिक तथ्यांकसमेत छैन । त्यहाँका विभिन्न सहरमा मजदुरी, चौकीदारीलगायत विभिन्न क्षेत्रमा काम गर्दै आएका छन् ।

भारतमा काम गर्ने अधिकांश सुदूरपश्चिम तथा कर्णालीका बासिन्दा चाडपर्वमा घर फर्किने गरेका छन् । कतिपय असारमा धान रोपेर भारत जाने र दसैँ–तिहारमा फर्किने गर्छन् भने हिउँदे बाली लगाएर फेरि जाने गर्छन् ।

 

 

 

त्रिनगर नाका भएर घर फर्किंदै गरेका बाजुरा कैलासमाडौंका गोकुल बुढा असारमा रोपाइँ सकेर भारत गएका थिए । सिम्लामा स्याउ टिप्ने काम गरेका उनी दसैँका लागि घर फर्किएका हुन् । उनले भने, ‘पाँचजनाको परिवार छ । घरखर्च चलाउन पनि काम गर्नै प(यो । आफ्नो देशमा केही पाइँदैन ।’ हिउँदे बाली लगाएर फेरि भारत जाने उनले बताए ।

७० प्रतिशत घरका सदस्य भारतमा
सुदूरपश्चिमका डोटी, अछाम र कञ्चनपुरमा गत वर्ष गरिएको एक नमुना सर्वेक्षणले करिब ७० प्रतिशत घरधुरीबाट कम्तीमा एकजना रोजगारीका लागि भारतमा रहेको पाइएको छ । भारतमा रहेका नेपाली कामदारको क्षेत्रमा काम गर्दै आएको संस्था निड्स नेपालको सर्वेक्षणका क्रममा एकै घरबाट दुई–तीनजनासम्म भारतमा काम गरिरहेको देखिएको छ ।

तीमध्ये कतिपय वर्षौँदेखि भारतमै काम गर्दै आएका र कतिपय खेतीपातीको काम नभएको सिजनमा मजदुरी गर्न जाने गरेको देखिएको निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बताए । ‘भारतमा प्रायः नेपालीले गर्ने सीपमूलक नभएर चौकीदारी, घरायसी, मजदुरीलगायत कठिन काम हुन्,’ उनले भने ।

डोटीको केआइसिंह गाउँपालिका–६ झिँगाबस्तीका मीनबहादुर कुँवरले आफू डेढ वर्षपछि घर फर्किन लागेको बताए । उनी सात–आठ वर्षदेखि भारतमा काम गर्दै आएका छन् । तेलंगनाको एक विद्यालयमा चौकीदार मीनले भने, ‘यता रोजगार छैन, छोराछोरी पढाउन भारततिर जानै प(यो ।’

युवा अवस्थामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समेत भारतमै काम गरेका थिए । वर्षौँदेखि भारतमा जाने क्रम अझै पनि नघटेको सरोकारवालाहरू बताउँछन् ।

त्यहाँबाट नेपाल छिरिसकेपछि पनि नेपाली सुरक्षाकर्मी र भन्सार कर्मचारीले जाँचको नाममा सताउने गरेको उनीहरूले बताए । त्यस्तै बाटोमा खाना खादा विषालु पदार्थ खुवाएर बेहोस भएपछि लुटपाट गर्ने गरेका छन् । निड्स नेपालका अनुसार गत वर्ष गड्डाचौकी नाका भएर आउने ५० जना नेपाली लुटिएका थिए ।

दसैँको वेला धेरै कामदार घर फर्किने भएकाले पैसा माग्ने, लुटपाट गर्ने, सताउने गरिँदै आएको छ । उनीहरूले सीमानाकामा सहज र सुरक्षित आवतजावत व्यवस्था गर्न आग्रह गरेका छन् ।

सुरक्षाकर्मीबाटै नाकामा असुली
चाडपर्व मनाउन घर फर्किरहेका नेपालीबाट सीमानाकामा भारतीय सुरक्षाकर्मी र भन्सार कर्मचारीले जबर्जस्ती पैसा असुल्ने गरेका छन् । भारतको पुनाबाट फर्किएका कैलाली मसुरियाका विवेक रसाइलीले गौरीफन्टा नाकामा भारतीय भन्सार कर्मचारीले पैसा मागेको बताए । ‘पैसा दिन्नँ भन्दा सामान चेकजाँच गर्ने नाममा सतायो, धकेलधाकेल ग(यो,’ उनले भने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्