चार वर्षीया बालिका बनिन बलात्कारको शिकार, आरोपी २२ बर्षीय युवक पाँच मिनेटमै पक्राउ



असोज २० झापा । झापामा चार वर्षीया बालिका बलात्कृत भएकी छन् । झापा गाउँपालिकाको वडा नम्बर ५ का २२ वर्षीय युवकले शुक्रबार राति बालिका बलात्कार गरेका हुन्।

शुक्रबार राति ९ वजे बालिकालाई करणी गर्ने आरोपमा कन्काई नगरपालिका-७ का राजकुमार हेमरनलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार घटना घटेको पाँच मिनेटमै आरोपीलाई पक्राउ गरिएको हो।

हेमरनले बालिकालाई ललाई फकाई गरी खेतको आलीमा लगेर बलात्कार गर्दै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीमा खबर गरेका थिए।

स्थानीयबाट खबर प्रहरीले पाउनेवित्तिकै प्रहरी परिचालन गरेर पाँच मिनेटमै आरोपी पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ। ‘प्रहरी चौकी शरणामतीबाट गएको टोलीले बालिकाको उद्धार गरी हेमरनलाई नियन्त्रणमा लिएको छ, स्थानीयले जानकारी दिनेवित्तिकै प्रहरी पुगेको थियो,’ जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीम ढकालले भने।

हेमरनलाई इलाका प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बालिकालाई उपचारको लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको उक्त कार्यालयले जनाएको छ।

साउनयता झापामा ४६ वटा बलात्कारका घटना घटेका छन्। ढकालका अनुसार शुक्रबारको अर्को एउटा घटना थपिएपछि यो संख्या ४७ पुगेको छ। प्रहरी उपरीक्षक ढकालले झापामा मात्र साउनमा २९, भदौमा ११ र असोजको १९ गतेसम्म ७ वटा बलात्कार र जबरजस्ती करणी उद्योगका घटना भएको बताए।

प्रहरीले घटनामा संलग्नहरू लगभग शतप्रतिशतलाई पक्राउ गरेर कारबाही गरिरहेको छ। प्रहरीका अनुसार साउनयताका घटनामा ९९ प्रतिशत आरोपित पक्राउ परेका छन्।

उनीहरूमाथि कारबाही र अनुसन्धान भइरहेको छ। प्रहरी उपरीक्षक ढकालले भने, ‘हामीले घटनामा संलग्नलाई उम्कन दिएका छैनौं।’ ४७ वटा बलात्कारको घटनामा दुई जना फरार छन्।

खुला सीमाका कारण आरोपी सजिलै उम्कन सक्ने भएकाले पनि प्रहरीले जिल्लाका टोल–टोलमा प्रहरी खटाएको छ । ढकालले भने, ‘यस्ता घटना नहुन्, प्रहरीको इच्छा त्यही हो।

तर, घटिहाले प्रहरीलाई एक कल गर्नुहोस्, दुई मिनेटमा प्रहरी घटनास्थलमा पुग्ने छ।’ यौनजन्य घटनाविरुद्ध टोल–टोलमा प्रहरी परिचालन गरेपछि संख्यात्मक हिसाबले सुधार आएको प्रहरीको भनाइ छ।

-सेतोपाटीबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्