दुर्घटनामा दुईजनाको मृत्यु



बारा। जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पथलैया–हेटौँडा सडक खण्डको बाराको चुरीयामाई मन्दिरनजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको हो।

हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना १७ प १९५८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ना ५ ख ७८५५ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार जितपुर सिमरा उपमहानगरपालिका–१ का ३६ वर्षीया शोभा सिग्देलको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक कविराज सुवेदी सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न ट्रकका चालकलाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको छ। शनिबार दिउँसो बाराको परवानीपुर गाउँपालिका–४ म्याजिक गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

वीरगञ्जबाट पथलैयातर्फ आउँदै गरेको ना १ ज ७६४८ नम्बरको म्याजिकले ठक्कर दिँदा स्थानीय अन्दाजी ४२ वर्षीया रामबहादुर महराको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएका महराको वीरगञ्जस्थित हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

ठक्कर दिने गाडीका चालक फरार रहेको र उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक शुभास हमालले जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्