किन भयो दूतावासमै पत्रकारको हत्या ?



टर्कीको प्रहरीले साउदी अरेबियाका पत्रकार जमाल खशोग्गीलाई इस्तानबुलस्थित उनकै देशको वाणिज्य दूतावासमा हत्या गरिएको आफूहरूको विश्वास रहेको बताएको छ ।

हुन त प्रहरीले त्यस्तो निष्कर्षमा पुग्नुको पछाडि कुनै प्रमाण प्रस्तुत गरेको छैन, तर गत मङ्गलवार साउदी वाणिज्य दूतावास गएपछि खशोग्गी बेपत्ता भएका थिए ।

साउदी अरेबियाका अधिकारीहरूले टर्कीको प्रहरीको आरोपलाई आधारहीन भनेको छ ।

साउदी अधिकारीहरूले खशोग्गी त्यो दिन दूतावास भवनबाट निस्किसकेको बताउने गरेका छन्, तर टर्कीले उनको हत्या गरिएको र त्यसपछि शव हटाइएको जनाएको छ ।

संलग्नता

टर्कीको भूमिमा साउदी अरेबियाकै संलग्नतामा पत्रकारको हत्या गराइएको पुष्टि भए दुई देशबीचको सम्बन्ध नाटकीय रुपमा चिसिन सक्ने बताइएको छ ।

खशोग्गीका रोजगारदातामध्येका एक वाशिङटन पोस्ट पत्रिकाले उनको हत्या गरिएको सत्य भए त्यो जघन्य अपराध हुने र दोषीलाई दण्डित गर्नुपर्ने जनाएको छ ।

संयुक्त राज्य अमेरिकाले पत्रकार खशोग्गीको बेपत्ता प्रकरणबारे थप सूचना सङ्कलन गरिरहेको बताएको छ ।

साउदी राजकुमार मोहम्मद बिन सलमानका कतिपय नीतिको प्रखर आलोचक खशोग्गी खशोग्गी अमेरिकामा निर्वासनमा बस्दै आएका थिए ।

खशोग्गीसँग बिहेको छिनोफानो भइसकेकी महिला पनि उनीसँगै वाणज्य दूतावास गएकी थिइन्, तर उनलाई वाणिज्य दूतावास छिर्न दिइनन् ।

इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास

सल्लाहकार

विवाह दर्ताका लागि गर्नुपर्ने कागजी कामका लागि खशोग्गी वाणिज्य दूतावास गएको बताइएको थियो ।

साउदी सरकारका स्थापित आलोचक खशोग्गी खासगरी साउदी राजकुमार मोहम्मद बिन सलमान नेतृत्वको सुधार योजनाको उनी आलोचक रहिआएका थिए।

यसअघि अल-वतन पत्रिका र केही समय चलेको साउदी टीभी न्यूज च्यानलका सम्पादक रहिसकेका खशोग्गीले साउदी अरेबिया र मध्यपूर्वबारे बीबीसी कार्यक्रमका लागि पनि काम गरेका थिए ।

साउदी राजपरिवारका सल्लाहकार रहिसकेका खशोग्गीले प्रेस स्वतन्त्रतामा कडाइ गरिएपछि एक वर्षअघि साउदी छाड्नुअघि कैयौँ वर्षसम्म उनलाई राजपरिवारका भित्री मानिसका रूपमा पनि हेर्ने गरिन्थ्यो ।

किशोर ओसामा बिन लादेनसँग नजिकको सम्बन्ध रहेकोमा पनि चिनिएका खशोग्गीले उनीसँग सन् १९८० को दशकमा अफगानिस्तानको व्यापक भ्रमण गरेका थिए ।

यद्यपि उनले सार्वजनिक रूपमै ओसामा बिन लादेनका दर्शनहरूको आलोचना गरे । र, सन् २००१ मा अमेरिकामा गरिएको हमलाभन्दा पहिल्यैदेखि नै उनी ओसामा बिन लादेनको सम्पर्कमा थिएनन् । बीबीसी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्