कलंकी सडकमा हिँड्नै गाह्रो, कहिले हट्ला जाम ?



रेणु डि.सी.

सैघाली खबर, २२ असोज ।
दिनहुँ हुने सवारी जाम र जीर्ण सडकका कारण कलंकी भएर आवत जावत गर्ने नागरिकहरुले निक्कै दुःख पाईरहेको छन् । १० बजे डिउडि भेट्न जानेहरु पनि कलंकिको जामका कारण ८ बजे अघि नै घरबाट निस्कनुपर्ने बाध्यता छ । छिटो र छरितो होस् भन्ने उद्देश्यले सवारी चढ्नेहरु जामका कारण घण्टौ जाममा फस्नु परेको बताउछन् । सडक विस्तार गर्न थालिएको तीन वर्ष बितिसक्दा पनि विस्तारको कामले गति नलिँदा यस्तो समस्या आएको यात्रुहरु बताउछन् ।

सडकमा उड्ने धूलोका कारण श्वासप्रश्वास लगायतका समस्या हुनुका साथै व्यापार व्यवसाय समेत चौपट भएको भन्दै स्थानीयले तत्काल सडक विस्तार सक्न पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराईसकेका छन् । केही दिनअघि मात्रै सडक नै ठप्प पारेर यो सडक खण्डका स्थानीय आन्दोलनमा उत्रिएका थिए । ठेकेदारले मंसिरसम्ममा सडक सुधारको काम सक्ने प्रतिवद्धता जनाएपछि स्थानीयको आन्दोलन फिर्ता भएको थियो ।

ठेकेदार पक्षले सडकमा परेका घरहरु हटाउन नसक्दा काममा ढिलाई भएको भन्दै आएको छ । यस्तै सवारी चलाउने चालकको पनि आफ्नै पीडा छ । यो सडकखण्डमा दैनिक जाम हुने र भत्केको सडकका कारण निस्कने धुलोले गाडी चलाउन समस्या भएको चालकहरुको गुनाँसो छ । कलंकीदेखि नागढुंगासम्म सडक विस्तारकै क्रममा छ । सडक विस्तार गर्ने भन्दै दुबैतर्फ भत्काइएका संरचना र सडकमा समेत रहेका ठूल्ठूला खाल्डाखुल्डीका कारण उड्ने धुवाँ धुलोले सडक झनै हिँडिनसक्नुको बनेको छ ।

अहिलेसम्म सडक विस्तारको तीस प्रतिशत काम मात्रै पुरा भएकाले अझै केही वर्ष जाम र धुलो धुवाँको समस्या नहट्ने काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । ९ दशमलव १ किलोमिटर लामो कलंकी–नागढुंगा सडक खण्ड निर्माणको जिम्मा शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन तथा शर्मा र कान्छाराम जेभीले लिएको हो ।

सडकलाई ३ खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ । ठेक्का ०७२ असार ३१ मा लागेको हो । दुई खण्डकाको निर्माण प्रगति ४५ र अर्कोको करिब ६० प्रतिशत मात्रै भएको छ । निर्माण सुस्त हुँदा त्यसको असर सडक आसपासका स्थानीयले खेप्नुपरेको त छँदैछ । यो रुट भएर आवतजावत गर्ने यात्रु र चालकले पनि समस्या भोग्नु परिरहेको छ । यस्तै चाडपर्ब नजिकिएसंगै यो समस्या झन् जटिल बन्दै गईरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्