पुराना पार्टीको दिन गयो, अब विवेकशील आउँछ’: रवीन्द्र मिश्र



सैघाली खबर, २२ असोज ।

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले काठमाडौंमा महल र करोडका गाडी चढेर समाजवाद नआउने बताएका छन् । उनले पुराना पार्टीहरुले सपना मात्रै बाँडेकाले उनीहरुको औचित्य समाप्त भएको दाबी गरे । ‘अहिलेको सरकारको कुरा गर्ने क्षमता छ, कल्पना बाँड्ने क्षमता छ’, सरकारबारे कटाक्ष गर्दै मिश्रले भने, ‘देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउने क्षमता शून्य छ ।’

वर्तमान सरकारसँग समाजवादको कुनै नीति नै नभएको दाबी गर्दै मिश्रले प्रश्न तेर्स्याए– काठमाडौंको महल र डेढ करोडको गाडी चढेर समाजवाद आउँछ ?’ शिक्षा र स्वास्थ्यमा लगानी गर्नेहरु कम्युनिस्ट र समाजवादी हुनै नसक्ने भन्दै उनले शब्दलाई खुकुलो र हल्का बनाएकोमा दुःख व्यक्त गरे ।

पुराना दलहरुको नेतृत्व सबै हिसाबले विफल भएकाले औचित्य समाप्त भएको उनको तर्क छ । ‘पुराना दल सबै हिसाबले औचित्यहीन भइसकेका छन्’, मिश्रले नयाँ पार्टीको आवश्यकतामा जोड दिँदै भने । साझा विवेकशील पार्टी संगठन निर्माणमा आक्रामक ढंगले पेश भएको जानकारी दिँदै उनले ३ महिने देशव्यापी अभियानले संगठन बलियो बनेको र आफ्नो पार्टी वैकल्पिक शक्तिका रुपमा अघि आउने दाबी गरे ।

संगठन विभाग प्रमुख मुमाराम खनालले पुराना दलको सान्दर्भिकता सकिएकाले आफ्नो पार्टी देशकै बलियो शक्तिका रुपमा उदाउने जिकिर गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्