एक सय ४४ मेट्रिक टन चिनी नेपालगन्ज भन्सारमा रोकियो



बाँके, २४ असोज । सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएपछि एक सय ४४ मेट्रिक टन चिनी तीन सातादेखि नेपालगन्ज भन्सारमा रोकिएको छ । व्यापारीले दसैँ र तिहारलाई लक्षित गरी ल्याएको चिनी भन्सारमै रोकिएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

मन्त्रिपरिषद् बैठकले गत ३१ भदौमा भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साबिकका मध्य र सुदूरपश्चिमका लागि ल्याइएको चिनी नेपालगन्ज भन्सार कार्यालयमा थन्किएको हो । सरकारले भारतबाट आएको चिनी आयात नगर्ने निर्णय गरेको भोलिपल्ट व्यापारीको चिनी नेपालगन्ज आइपुगेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले बताए ।

उनले मन्त्रिपरिषद्को निर्णयपछि चिनी आएकाले भन्सार गर्न नसकेको बताए । ‘सरकारले निर्णय गर्नुभन्दा अगाडि नै व्यापारीले भारतमा चिनी खरिद गरेर ट्रान्सपोर्टमा हालेको हुनुपर्छ, तैपनि चिनी आइपुग्नुभन्दा पहिले नै सरकारले आयात नगर्ने निर्णय गरिसकेकाले भन्सार गर्न मिलेन,’ उनले भने ।

व्यापारीले दसैँ र तिहारका लागि दसैँअघि नै चिनी खरिद गरेका थिए । भन्सार अधिकृत श्रेष्ठले ४२ लाख भारतीय रुपैयाँ अर्थात् ६७ लाख नेपाली रुपैयाँको चिनी भन्सार हुन नसकेको बताए । उनले नेपालगन्ज भन्सारमा मात्र नभई वीरगन्ज, भैरहवा, धनगढी, विराटनगरलगायत भन्सारमा पनि चिनी थन्किएको बताए । भन्सार महाशाखाले नेपालगन्ज भन्सारमा रोकिएको चिनीको बारेमा सोधपुछ गरे पनि विकल्पका लागि कुनै निर्देशन आएको छैन ।

भारतबाट चिनी आयातमा सरकारले रोक लगाए पनि नेपालगन्जमा चिनीको मूल्य नबढेको व्यापारीले दाबी गरेका छन् । व्यापारीले प्रतिकिलो ७० देखि ७५ रुपैयाँमा चिनी बिक्री गर्दै आएको नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ९चुन्ना०ले बताए ।

‘क्वालिटीको आधारमा व्यापारीले चिनीको मूल्य तोक्ने गरेका छन् । चिनी हेरेर कसैले धेरै र कसैले कम मूल्यमा बिक्री गरिरहेका छन्,’ नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्षसमेत रहेका चुन्नाले भने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्