अपराध

निर्मला पन्तका हत्यारासम्म पुग्न आयोगलाई तनाव

By थाहा अनलाइन

October 14, 2018

काठमाडौं, २८ असोज । निर्मला हत्याकाण्डको छानबिनमा दोषी पहिचान गर्न राष्ट्रिय मानवअधिकार आयोगलाई सकस परेको छ । गत साउनमा बलत्कारपछि हत्या गरिएकी पन्तको आयोगले अनुसन्धान थालेको थियो ।

आयोगको टोलीले भदौ पहिलो सातादेखि घटनाको छानबिन सुरु गरेको हो। तर, प्रारम्भिक छानबिनको रिपोर्ट तयार गरे पनि हालसम्म सार्वजनिक गरिएको छैन । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

आयोगका सदस्य प्रकाश वस्तीले सरकारी छानबिन टोलीको छानबिनमाथि नै आयोगले अनुसन्धान गरेको बताए । सरकारी छानबिन टोलीको सूचना संकलन संरक्षण र परीक्षण राम्रोसँग नहुँदा दोषी पहिचान नभएको आयोगले औंल्याएको छ ।

‘हामी अनुसनधानकै चरणमा छौं’, वस्तीले भने। सरकारद्वारा गठित छानबिन टोलीको अनुसन्धानमा देखिएका कमजोरी औंल्याउँदै वैज्ञानिक अनुसन्धान सुरु गर्न आयोगले निर्देशन दिइसकेको छ ।

घटनाको वास्तविक तहसम्म पुग्नै गाह्रो भएकाले राज्यका सबै निकायको अनुसन्धान पूर्ण हुन नसकेको मानवअधिकारकर्मी सुबोध प्याकुरेलले बताए ।

‘घटना निकै जटिल बनाइयो । घटनाको परिस्थतिजन्य कारण कसैले पेस गर्न सकेनन् । नेपालका अनुसन्धान निकायसँग यस्ता अनुसन्धानको सत्यतथ्य बाहिर ल्याउने क्षमता छ कि छैन भन्ने प्रश्न उठेको छ’, प्याकुरेलले भने ।

सरकारको अनुसन्धानका कमीकजोरी उल्लेख गरे पनि आयोगलाई समेत उक्त घटनाको अनुसन्धान टुंग्याएर सरकारलाई सिफारिस गर्न चुनौती भएको छ ।

निर्मला हत्या घटनाको विषयमा छानबिन गर्न सरकारले भदौ ७ मा हरिप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो। समितिले असोज दोस्रो साता मात्रै प्रतिवेदन बुझाएको थियो ।