कुटनीतिक सम्बन्ध विस्तार गर्न महराको नयाँ कदम



काठमाडौँ, १० साउन । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले कूटनीतिक सम्बन्ध स्थापना भएका मुलुकका ‘द्विपक्षीय परामर्श संयन्त्र’मार्फत आर्थिक कूटनीतिलाई प्रभावकारी बनाइने बताउनुभएको छ ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा आज परराष्ट्र मन्त्रालयमा आएको प्रतिनिधिमण्डलसँग मन्त्री महराले भन्नुभयो, “द्विपक्षीय परामर्श संयन्त्र भएका मुलुकमा संयन्त्रमार्फत र नभएका मुलुकमा संयन्त्र स्थापना गरेर आर्थिक कूटनीतिलाई प्रभावकारी रुपमा अगाडि बढाउँछौँ ।”

परराष्ट्र नीतिसम्बन्धी सुझाव दिन बनेको उच्चस्तरीय कार्यदलमा उद्योग वाणिज्य महासंघले महत्वपूर्ण सुझाव दिइसकेको विश्वास व्यक्त गर्दै उहाँले अबका दिनमा राज्यले राजनीतिकभन्दा आर्थिक मुद्दालाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने बताउनुभयो ।

उद्योग वाणिज्य महासंघले मुलुकको आर्थिक विकासमा खेलेको भूमिका महत्वपूर्ण रहेको र महासंघले उठाएका मागलाई सम्बोधन गर्न आफू र आफ्नो मन्त्रालयको सहयोग रहने मन्त्री महराले विश्वास दिलाउनुभयो ।

सो अवसरमा महासंघका अध्यक्ष राणाले कूटनीतिक नियोगलाई निश्चित लक्ष्यसहितको कार्यक्रम दिएर पठाउनुपर्ने सुझाव दिँदै निर्यातमुखी कूटनीतिलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले कार्यदक्षता र क्षमताका आधारमा कूटनीतिक प्रमुखको कार्याविधि थपिनुपर्नेमा जोड दिँदै त्यसका विषयमा मन्त्रालयले विशेष नियमन गर्नुपर्ने बताउनुभयो । राज्यले गर्ने विभिन्नस्तरको उच्चस्तरीय भ्रमणमा महासंघका प्रतिनिधिको सम्मानजनक उपस्थिति हुनुपर्ने अध्यक्ष राणाले माग गर्नुभयो । रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्