आज मन्त्रिपरिषद् विस्तारको तयारी, दुई बजेपछि सपथ



सैघाली खबर
साउन ११


प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । हिजो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएपनि कांग्रेस भित्र मन्त्री भागबण्डामा कुरा नमिलेका कारण रोकिएको थियो । आज नेपाली कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, फोरम लोकतान्त्रिकबाट २ र संयुुक्तबाट एक मन्त्री थपिंदैछन् । थपिन लागेका १९ मन्त्रीले दिउँसो दुई बजे सपथ ग्रहण गर्ने तयारी छ । तर, समय तय गर्ने अधिकार राष्ट्रपति कार्यालयसँग छ । कांग्रेस शिर्ष नेताहरुले हिजो साँझ मन्त्रीहरुको टुंगो लगाएका थिए । तर अहिलेसम्म मन्त्री हुनेहरुको नाम औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । विवाद मिलेसँगै पौडेल पक्षले चार जनाको नामसमेत प्रधानमन्त्रीलाई दिएको स्रोतले जनाएको छ । पौडेलले दिएका सबै मन्त्रिपरिषद्का लागि नयाँ अनुहार हुन् । पौडेलले बुझाएका नाममा केन्द्रीय सदस्य रामकृष्ण यादवसहित यज्ञबहादुर थापा, संजय गौतम र राजन केसी छन् । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबाट चार मन्त्री थपिने भएका छन् । देउवाले आफ्नो समूहबाट थप्न लागेका मन्त्रीहरुमा मीनबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, वीरबहादुर बलायर र अम्बिका बस्नेत छन् । देउवा पक्षबाट मन्त्री बन्न लाग्नुभएका बलायरले सीआइएनसँग कुरा गर्दै कांग्रेसले नयाँ अनुहारलाई मन्त्री बनाउन लागेको जानकरी दिनुभयो । कांग्रेसका यस अघिका तीन मन्त्री उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रम मन्त्री फर्मुल्लाह मन्सुर देउवा समूहका हुन् । बाँकी १० मन्त्री मध्ये देउवा पक्षबाट ४, वरिष्ठ नेता रामचन्द्र पौडल पक्षबाट ४ जना हुनेछन् भने कृष्ण सिटौला समूह र खुमबहादुर खड्का समूहबाट एकएक मन्त्री बन्नेछन् । कांग्रेस श्रोतका अनुसार सिटौला समूहबाट भीमसेनदास प्रधान र खुमबहादुर समूहबाट मोहनबहादुर बस्नेतको नाम सिफारिस भएको छ ।
आज हुने मन्त्रिपरिषद् विस्तारमा माओवादीका मन्त्रीहरु पनि हुनेछन् । माओवादीले मन्त्रीको नाम टुंगो लगाइसकेको भएपनि सार्वजनिक भने गरेको छैन । स्रोतका अनुसार माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, सन्तबहादुर चौधरी, आशा कोइराला, सीता नेपाली मन्त्री बन्ने चर्चा छ । ९ मन्त्रालय पाएको माओवादीबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा र शहरी विकास मन्त्री प्रभु साह भइसकेका छन् । फोरम लोकतान्त्रिकले भने यसअघि नै मन्त्री भएका जितेन्द्र देव र गोपाल दहितलाई पठाउने तयारी गरेको छ । संयुक्तबाट एकजना मन्त्री बन्ने भए पनि नाम भने सार्वजनिक भएको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्