दाङका १ सय विद्यालय शून्य दरबन्दीमा सञ्चालन



सैघाली खवर
दाङ,साउन ११ । राज्यले माध्यमिक तह सम्मको शिक्षा संविधानतः निःशुल्क घोषणा गरेको छ । विद्यालय सञ्चालनका लागि आवश्यक व्यवस्थापन राज्यले नै व्यहोर्ने गरी संविधानमा ग्यारेण्टी गरिएको छ । तर, दाङका १ सय ९ सामुदायिक विद्यालय वर्षौं यता शून्य दरबन्दीमा सञ्चालन हुँदै आएका छन् ।

जिल्लामा रहेका ४ सय २१ सामुदायिक विद्यालयमध्ये १ सय ९ विद्यालयमा सरकारी खर्चमा एउटा पनि शिक्षक खटाइएको छैन । ती विद्यालय सञ्चालनको समग्र व्ययभार समुदायले नै व्यहोर्दै आएका छन् ।

जिल्ला शिक्षा कार्यालय दाङले दिएको जानकारी अनुसार शैक्षिक आवश्यकताका आधारमा समुदायले विद्यालय खोल्ने तर शिक्षक दरबन्दीमा राज्यले चासो नदिँदा यहाँका विद्यालयले यो दुर्दशा व्यहोर्नु परेको हो । यस्तै जिल्लामा सहज स्थानमा रहेका विद्यालयमा आवश्यकता भन्दा धेरै शिक्षक थुप्रिने र अलिक विकट स्थानमा रहेका विद्यालयमा शिक्षक जान नमान्दा पनि यस्तो समस्या देखा परेको हो ।


‘विद्यालय थपिने क्रम जारी रह्यो तर शिक्षक दरबन्दी मिलानमा ध्यान नदिँदा यस्तो समस्या देखिएको हो ।’ जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले भने ।

दरबन्दी मिलान प्रक्रिया अन्तिम चरणमा शिक्षकहरु सहज स्थानमा थुप्रिने र विकट क्षेत्रमा जान नमान्दा १ सय ९ विद्यालयमा शून्य दरबन्दी भएपछि जिल्ला शिक्षा कार्यालयले दरबन्दी मिलानको प्रक्रिया अघि बढाएको छ ।

बैशाखदेखि कार्यदल नै गठन गरेर अपुग दरबन्दी रहेका विद्यालयहरुको अवस्थाबारे अध्ययन गरिएको र दरबन्दी मिलानको प्रक्रिया अन्तिम चरणमा पुगेको जिशिअ मैनालीले जानकारी दिए । आइतबार जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिहरुसँग छलफल गरी साउन २२ गतेसम्म दरबन्दी मिलान सक्ने गरी तयारी थालिएको मैनालीले जानकारी दिए ।

‘बैशाखदेखि नै कार्यदल गठन गरेर दरबन्दी मिलानका लागि अध्ययन थालेका थियौं । अहिले जिल्लाका सबै स्थानीय तहका प्रतिनिधिसँग छलफल गरी साउन २२ गतेसम्म दरबन्दी मिलान सक्ने गरी तयारी थालेका छौं’, उनले भने, ‘शिक्षकको संख्या पुगेको र नपुगेका विद्यालयहरुलाई छुट्याएका छौं । बढी संख्यामा शिक्षक रहेका विद्यालयबाट शिक्षक झिकेर नपुग विद्यालयमा स्थानान्तरण गरिनेछ ।’

यसरी स्थानान्तरण गर्दा दरबन्दी नभएका विद्यालयको लिष्ट राखेर शिक्षकहरmलाई विद्यालय रोज्न लगाइने मैनालीले जानकारी दिए । पाँच सय बढी शिक्षक दरबन्दी अपुग जिल्लामा हाल ५ सय ५७ जना शिक्षक दरबन्दी अपुग रहेको जिल्ला शिक्षा कार्यालय दाङले जानकारी दिएको छ ।

जसअनुसार निमावि तहमा ३ सय ३८ र माध्यमिक तहमा २ सय १९ शिक्षक दबरन्दी अपुग रहेको छ । दरबन्दी मिलान नहुँदा प्रावि तहमा भने १ सय ३४ दरबन्दी बढी रहेको छ ।

शिक्षक दरबन्दी स्थानान्तरण गर्ने क्रममा शून्य दरबन्दी अपुग रहेका विद्यालय क्रमैसँग प्राथमिकतामा पर्ने जिशिअ मैनालीले जानकारी दिए ।

१ कक्षा देखि ८ सम्म जिल्लाकै जनशक्तिबाट शिक्षक अभाव पूर्ति हुने बताउँदै उनले त्यो भन्दा माथिका लागि भने अरु विकल्प खोज्नुपर्ने बताए । ‘८ देखि १२ कक्षासम्म शिक्षक स्थानान्तरण गर्दा जिल्लाकै दरबन्दी मिलानबाट पनि पुग्ने अवस्था देखिन्छ’, उनले भने, ‘त्यो भन्दा माथिका कक्षाका लागि भने केन्द्रसँग छलफल गरेर जनशक्ति थप्नुपर्ने हुन सक्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्