मुख्य समाचार

देउवा र कमल थापा,वार्ता समिति भंग

By थाहा अनलाइन

July 26, 2017

 

११ साउन, काठमाडौं । मन्त्रिपरिषद बिस्तारमा आफ्नो पार्टीलाई नसमेटेपछि राप्रपाका अध्यक्ष कमल थापा सरकारसँग असन्तुष्ट देखिएका छन् । मन्त्रिपरिषद विस्तार भएको केही मिनेटमै राप्रपाले विज्ञप्ति निकालेर सरकारसाग वार्ता गर्न बनाइएको समिति भंग गरेको घोषणा गरेको छ । मन्त्रालय बाँडफाँटको विषयमा सरकारसँग छलफल गर्न भन्दै राप्रपाले महामन्त्री जयन्त चन्दको नेतृत्वमा वार्ता समिति बनाएको थियो । तीन सदस्यीय वार्ता समिति बुधबार भंग गरिएको राप्रपाका मुख्य सचिव विशेश्वर शर्मा सुवेदीले जानकारी दिए ।

राप्रपा अध्यक्ष कमल थापाले उपप्रधान मन्त्रीसहित पाँच मन्त्रालय मागेका थिए । तर प्रधानमन्त्री देउवाले उपप्रधानबाहेक चार मन्त्रालय दिने बताएका थिए ।

मन्त्रालय भागबन्डामा कुरा नमिलेपछि राप्रपाविना प्रधानमन्त्री देउवाले बुधबार सरकार बिस्तार गरेका छन् । सरकारमा कांग्रेस, माओवादी, फोरम लोकतान्त्रिक र नेकपा संयुक्तबाट १९ मन्त्री थपिएका छन् । यससँगै देउवा नेतृत्वको सरकार २७ सदस्यीय बनेको छ ।

हेर्नुहोस् राप्रपाले निकालेको विज्ञप्ति