खेलकुद

१३औँ सागका लागि विभिन्न उपसमिति गठन

By थाहा अनलाइन

October 29, 2018

काठमाडौं : १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) यसवर्ष नेपालमा आयोजना हुँदै छ। युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माको अध्यक्षतामा बसेको १३औँ दक्षिण एसियाली खेलकुद (साग) को तयारी तथा व्यवस्थापन समितिको बैठकले विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको छ।  बैठकले विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको समितिका सदस्यसचिवसमेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले जनाएका छन्।

उपसमितिअन्तर्गत आवास व्यवस्थापनमा तेज गुरुङ, यातायात व्यवस्थापनमा शिव कोइराला, सुरक्षा व्यवस्थापनमा विज्ञानराज शर्मा, स्वयंसेवक परिचालनमा विनोद श्रेष्ठ, खेलस्थल तयारीमा टासी घले, काठमाडौं महानगरपालिका स्रोतसाधन परिचालन तथा समन्वयमा काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य, पोखरा महानगरपालिका स्रोतसाधन परिचालन तथा समन्वयमा पोखराका नगर प्रमुख मानबहादुर जिसी र ललितपुर महानगरपालिका स्रोतसाधन परिचालन तथा समन्वयमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई संयोजक तोक्ने निर्णय भएको छ।

मस्कट, लोगो, गीत र नारा मूल्यांकन तथा सिफारिस उपसमितिमा राखेपका सदस्य–सचिव विष्ट, निर्देशिका तथा कार्यविधि तयार गर्ने कार्यदलमा खेलकुद मन्त्रालयका सह–सचिव अणप्रसाद न्यौपाने र बजेट तयारी कार्यदलमा राखेपका सदस्य–सचिव विष्टलाई संयोजक तोकिएको छ। बैठकले यसअघि २०१९ को मार्चमा गर्ने भनिएको १३ औं सागलाई सोही वर्षको सेप्टेम्बरमा सार्नलाई सम्बन्धित निकायमा प्रस्ताव गर्ने निर्णय समेत गरेको सदस्य–सचिव विष्टले जानकारी गराए।