सैघाली खबर
काठमाण्डौ , १२ साउन।
सरकारले भूकम्पले क्षतिग्रस्त गुम्बा तथा विहारहरुको पुनर्निर्माणको कामलाई छिटो सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । सरकारले बौद्ध धर्मको प्रवर्द्धन गरी विश्वभरका पर्यटन भित्रयाउन लागिपरेको दावी पनि गरेको छ ।
बौद्ध दर्शन तथा गुम्बा विकास समितिले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले भूकम्पले क्षतिग्रस्त गुम्बा तथा बिहारहरुको पुनर्निर्माणको कामलाई यथाशक्य छिटो सम्पन्न गर्न पहल गर्ने प्रतिवद्धता जनाएका हुन् ।
‘क्षतिको विश्लेषण गरी यथाशक्य चाँडो पुनर्निर्माण गर्नका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ गच्छदारले भने ।
२०७२ सालको विनाशकारी भूकम्पमा १३ सय १८ वटा गुम्बा तथा विहारहरु क्षतिग्रस्त भएको सरकारी तथ्यांक छ । तिनीहरुको छिटो पुनर्निर्माण गर्न माग गर्दै बौद्ध धर्मावलम्बीहरुले राजधानीमा प्रदर्शन समेत गरेका थिए ।
गुम्बा तथा विहारहरुको पुनर्निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन आफूहरु सक्रिय रहेको बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।