श्रीमतीले टन्न जाँड खाएर खुर्पा प्रहार गर्दा श्रीमान ठहरै,ह्याम्मरले हानेर श्रीमतीको हत्या



बनेपा, १२ साउन । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ ठाडेमा आज श्रीमतीको खुर्पा प्रहारबाट ३३ वर्षीय सन्तबहादुर तामाङको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक अनिल घिमिरेका अनुसार घरायसी विवादले उग्ररुप लिँदा २६ वर्षीया श्रीमती लालुमाया तामाङले गरेको खुर्पा प्रहारबाट सन्तबहादुरको मृत्यु भएको हो ।

“हामी घटनास्थलमा पुग्दा मृत अवस्थामा सन्तबहादुर फेला प-यो,” प्रहरी निरीक्षक घिमिरेले भन्नुभयो । विवाद हुँदा श्रीमतीले मादकपदार्थ सेवन गरेको प्रहरीले आशंका गरेको छ । लालुमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि शिर मेमोरियल अस्पताल बनेपामा राखिएको छ ।

ह्याम्मरले हानेर श्रीमतीको हत्या

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित मालेबगरमा एक व्यक्तिले बुधबार ह्याम्मरले हानेर श्रीमतीको हत्या गरेका छन् ।

उनन्तीस वर्षीय कुमार राईले ह्याम्मरले हानेर ३५ वर्षीया श्रीमती बुद्धिमाया राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरेन्द्र गुरुङले बताउनुभयो । मोरङ मधुमल्ला गाउँपालिका–३ घर भई हाल विष्णुबहादुर विकको घरमा डेरा गरी बस्दै आएका राईले श्रीमतीलाई ह्याम्मरले हानेर हत्या गरेको जानकारी उहाँले दिनुभयो ।

आवेशमा आएर उनले ह्याम्मरले हान्दा बुद्धिमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गर्ने कुमारलाई इलाका प्रहरी कार्यालय, बेलचौताराले तत्कालै नियन्त्रण लिएको छ । मृतकको शव परीक्षणका लागि दमौली अस्पतालतर्फ पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्