बुद्धको प्रेरणाले हत्या, हिंसाको अन्त्य



काठमाडौँ, १२ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल बहुभाषिक, बहुधार्मिक, बहुजाति र बहुसांस्कृतिक जनता बसोबास गर्ने राज्य भएको बताउनु भएको छ ।

राष्ट्रपति भण्डारीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति, ललितपुरले आज यहाँ आयोजना गरेको कदरपत्र वितरण समारोहलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।

उहाँले हिमाल, तराई र पहाडमा बस्ने सबैको वेशभूषा, परम्परा र भाषा नै राष्ट्रिय गौरव हो र यसले विश्वमा उच्च पहिचान बनाएको छ भन्नुभयो ।

राष्ट्रपति भण्डारीले पहिलोपल्ट बौद्ध दर्शनमा उच्च शिक्षा हासिल गर्ने ३९९ व्यक्तिलाई कदरपत्र वितरण गरी सम्मान गर्नुभयो ।

उहाँले बौद्ध धर्म दर्शनमा उच्च शिक्षा लिएपछि प्राप्त हुने रिम्पोछे, टुल्कु, आचार्य, खेम्पो, लोप्पेन, घेसे उपाधिबाट सम्मान गर्नुभएको हो ।

समारोहमा नेपाल, वर्मा, थाइल्याण्ड, श्रीलंका र भारतबाट सहभागी बौद्ध दर्शनमा उच्च शिक्षा हासिल गरेका व्यक्ति उक्त उपाधिबाट सम्मानित भएका थिए ।

राष्ट्रपति भण्डारीले नेपाल बौद्ध संस्कृतिको अनुपम थलो रहेको बताउँदै बुद्धको जन्मथलो लुम्बिनीको बृहत्तर विकासमा सरकार, निजी क्षेत्र र सबै सरोकारवाला एकजुट भई अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले विश्व शान्तिका लागि बुद्धको शिक्षा अस्त्रसावित भएको छ भन्नुभयो ।

उहाँले शान्तिका अग्रदूत बुद्धको प्रेरणाले हत्या, हिंसाको अन्त भएको बताउनुभयो ।

नेपालमा बौद्ध शिक्षा दिने चलन २०३६ सालबाट शुरु भएको हो । यहाँस्थित विहार र गुम्बामा निःशुल्क बौद्ध शिक्षाको पढाइ हुन्छ । उच्च शिक्षाका लागि लुम्बिनीमा लुम्बिनी विश्वविद्यालयको स्थापना भएको छ ।

कार्यक्रममा लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्रा डा नरेशमान बज्राचार्यले बौद्ध दर्शनसम्बन्धी उच्च शिक्षाका लागि नेपाली विशेष गरी भारत, वर्मा, श्रीलंका र थाइल्याण्ड जाने गरेको बताउनुभयो । उहाँले बौद्ध शिक्षालाई राज्यले राष्ट्रिय शिक्षाको मान्यता दिनुपर्ने विचार व्यक्त गर्नुभयो । रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्