नागपञ्चमीसम्बन्धी दुई प्रचलित कथाहरु



सैघाली खबर

 साउन ,१३

 

शुक्रवार नागपञ्चमी परेको छ । यस वर्षको नागपञ्चमीमै जनै पूर्णिमा र रक्षाबन्धन पनि परेको छ ।
नागपञ्चमीका बारेमा प्रचलनमा रहेका दुईवटा कथाहरू हामी यहाँ बताउँदैछौं ।
कथा १
एक राजाका सात पुत्र थिए । उनीहरू सबैको विवाह भइसकेको थियो । तीमध्ये ६ वटा छोराका सन्तान भइसकेका थिए । कान्छो छोरोको चाहिँ सन्तान भएको थिएन । कान्छी बुहारीलाई जेठानीहरूले बाँझी भन्दै गिज्याउँथे ।
सन्तान नभएको दुःखमा परेकी उनी सासू, नन्द र जेठानीहरूको व्यंग्यवाण सहन नसकेर धुरुधुरु रुन्थिन् । उनका पतिले सम्झाउँथे, ‘सन्तान हुनु नहुनु भाग्यको अधीनमा छ । किन दुःखी हुन्छौ रु’
उनी भन्थिन्, ‘सबैजना मलाई बाँझी भनेर जिस्काउँछन् ।’
पतिले भने, ‘संसारले त अनेक कुरा गर्छ नि । मैले तिमीलाई कहिल्यै कठोर वचन गरेको छैन क्यारे । तिमी मलाई ध्यान देऊ र तनाव नलिऊ ।’
पतिको कुरा सुनेर उनलाई सान्त्वना प्राप्त हुन्थ्यो । तर कसैले वचन लगाउँदा उनी रुन्थिन् ।
यसैगरी दिन बित्दै जाँदा नागपञ्चमी आयो । नागपञ्चमीको अघिल्लो रात चौथीमा उनले सपनामा पाँचवटा नाग देखिन् । तीमध्ये एक नागले उनलाई सम्बोधन गर्दै भने, ‘हे पुत्री, भोलि नागपञ्चमी छ । तिमी हाम्रो पूजा गर । त्यसपछि तिमीले सन्तान पाउनेछौ ।’
त्यसपछि उनले पाँचवटा नाग देखेको भएर पाँचै नागको आकृति बनाएर पूजा गरिन् । नागहरूलाई चिसो खानेकुरा मन पर्ने भएकाले उनले काँचो दूध चढाइन् ।
यसरी नागलाई पूजा गरेको नौ महिनापछि उनलाई सन्तानलाभ भयो ।
कथा २
कुनै गाउँमा एक किसान परिवार बस्थ्यो । किसानका दुई छोरा र एक छोरी थिए । एक दिन किसानले हलो जोत्दाखेरी नागका तीन बच्चाहरू त्यसमा किचिएर मरे ।
नागिनले पहिला त धेरै विलाप गरिन् अनि पछि आफ्नो सन्तानको हत्या गर्ने व्यक्तिसँग बदला लिने संकल्प गरिन् ।
राति आएर नागिनले किसान, उसकी पत्नी र दुवै छोरालाई डसिन् । छोरी चाहिँ मामाघर गएकीले बचिन् ।
भोलिपल्ट हल्लाखल्ला भएपछि मामाघरबाट छोरी आइन् । नागिन पनि उनलाई डस्नका लागि त्यहाँ आइपुगिन् । नागिनलाई देखेर छोरीले दूधको कचौरा अघि राखेर क्षमाप्रार्थना गरिन् ।
त्यसपछि नागिन प्रसन्न भएर मातापिता र दुवै भाइहरूलाई पुनर्जीवित गरिदिइन् । त्यो दिन श्रावण शुक्ल पञ्चमी तिथि परेको थियो । त्यही भएर नागहरूको कोपबाट बच्नका लागि यस दिन नागहरूको पूजा गरिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्