युद्धको घाऊ कशरी पुर्दै छ रुकुम रोल्पा ?



भूपेन्द्र वली

दाङ १३ साउन ।  १० वर्षे युद्धका धेरै सम्झना छन् रोल्पा र रुकुमसँग । युद्धका घाउ अझै ताजै छन् । युद्धले अपांग र अशक्त भएका धेरै लडाकु अहिले पनि भेटिन्छन् गाउँ–गाउँमा । जनसेनाले तालिम गर्दा रूखमा परेका गोलीका डोब अझै भेटिन्छन् । तालिमकेन्द्रमा बनाइएका सुरुङ भत्किएका छैनन् । यिनै युद्धका सम्झना बोकेर पर्यटक पर्खिरहेको छ गुरिल्ला पदमार्ग ।

हिउँमा लपेटिएको चम्किलो धौलागिरि हिमालका मनमोहक दृश्य, ढोरपाटन सिकार आरक्षण क्षेत्रका हरिया फाँटलगायत पर्यटकीय, पर्यावरणीय सौन्दर्यसमेत गुरिल्ला पदमार्गका आकर्षण हुन् । सो ट्र्याकमा कैयौँचोटि आफ्ना छापामारको लस्कर हिँडाएका तत्कालीन माओवादी सेनाका कमान्डर नन्दकिशोर पुन हाल उपराष्ट्रपति छन् भने सर्वोच्च कमान्डर प्रचण्ड प्रधानमन्त्री छन् । सोही बाटोमा आफ्नो भूमिगत जीवन डोहो-याएका अन्य माओवादी नेताले पनि मुलुकको महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका छन् । तर, आवश्यक व्यवस्थापन र प्रचारप्रसार अभावमा यो पदमार्गमा पर्यटक भने निकै कम मात्र ओहोरदोहोर गरिरहेका छन् ।

लामो समय सशस्त्र द्वन्द्वले थिलथिलो बनेका रोल्पा, रुकुम, बाग्लुङलगायत जिल्लालाई शान्तिसँग जोड्ने र द्वन्द्वको अध्ययन–अवलोकन गर्न चाहनेलाई सो पदमार्ग एउट जीवन्त पुस्तकालयका रूपमा रहने अपेक्षा गरिएको थियो । ट्रेकमा तत्कालीन माओवादीले द्वन्द्वकालमा निर्माण गरेका आधार इलाका, द्वन्द्वका अवशेष तथा यहाँका पर्यटकीय स्थल आकर्षणका रूपमा छन् । यस्तै, यो मार्गमा ढोरपाटन सिकार आरक्षणसहितका पर्यटकीय र धार्मिक स्थललाई समेत समेटिएको छ । ट्रेकिङ व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्टस् एसोसिएसन अफ नेपाल (टान) र नेपाल पर्यटन बोर्डले रुकुम र रोल्पाका जिविसको सहकार्यमा सन् २०१२ मा गुरिल्लामार्गको रेखांकन गरेका थिए ।

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न भन्दै गुरिल्लामार्ग रेखांकन भए पनि अझै यस क्षेत्रमा पर्यटनको व्यवसायीकरण भने हुन सकेको छैन । करिब चार वर्ष गुरिल्लामार्गको विस्तृत अध्ययन गरी रेखांकन भए पनि सरकारी उदासीनताले व्यवसायीकरण हुन नसकेको पर्यटनविज्ञले बताएका छन् । पैदलमार्गको माध्यमबाट ग्रामीण क्षेत्रको आर्थिक विकास गर्न पनि नयाँ रुट निर्धारण भएको थियो । मध्यपश्चिममा नयाँ पैदलमार्गको प्रवद्र्धन गरी पर्यटक भित्राउने सरकारी योजना तुहिँदा गुरिल्लामार्ग ओझेलमा पर्दै गएको हो ।

tor

गुरिल्लामार्ग पैदलमार्गको नयाँ विकल्प भएको टानका तत्कालीन महासचिव रमेश धमलाले बताए । ‘नेपालमा सबैभन्दा बढी प्रयोग गरिने अन्नपूर्ण ट्र्याकजस्तै गुरिल्लामार्गले कैयौँ सम्भावना बोकेको छ । यहाँ त झन् गुरिल्लामार्गका सौन्दर्यसँगै द्वन्द्वकालीन समयका ऐतिहासिक विशेषता छन्,’ उनले भने, ‘पदमार्गबारे सरकारले विशेष ध्यान दिन सके निजी क्षेत्र लगानी गर्न तयार छ । भट्ट सुन्दा राजनीतिक गन्तव्यको मार्गजस्तो सुनिए पनि गुरिल्लामार्गले आफ्नै ऐतिहासिक विशेषता र पर्यटकीय सौन्दर्य बोकिरहेको छ ।’

गुरिल्ला ट्रेकमा तीन रुट

जिल्ला पर्यटन विकास समिति रोल्पाका अनुसार गुरिल्ला ट्रेकमा तीनवटा रुट छन् । पहिलो रुट १९ दिनको, दोस्रो १४ दिन र तेस्रो २७ दिनको छ । यी रुट पोखराबाट सुरु भई रोल्पाको सुलिचौर र रुकुमको मुसिकोट पुगेर सकिन्छन् । यी रुटमा बेनी, ढोरपाटन, थबाङ, स्यार्पु दह, मुसिकोट, रुकुमकोट, सुकुलबाङ, जेलबाङ, खारा, माइकोट, कयाम, पेल्मा, लुकुम, बााफिकोटलगायत ऐतिहासिक स्थान समेटिएका छन् ।
माओवादी र सरकारी पक्षको आक्रमणबाट स्मरणीय बनेका अवशेषसमेत गुरिल्लामार्गमा आकर्षणको केन्द्रमा छन् । यो रुटमा पर्ने एउटा खण्ड रुकुम र सल्यानको सिमाना बजार खौला, खाराबस्ती, डल्सिंगे, मनोरम घना जंगल, चुनवाङ, थवाङ, महत, रुकुमकोट, मुसिकोट पर्यटकका रोजाइमा छन् । यस्तै, ढोरपाटन सिकार आरक्षण हुँदै तकसेरा, तकसेराबाट रुकुमको स्यार्पुदह मुसिकोटको खारा रुटसमेत प्रयोग गर्न सक्छन् ।

द्वन्द्वमा तत्कालीन माओवादीले आफ्ना विभिन्न भूमिगत गतिविधि सञ्चालन गरेका विभिन्न स्थानलाई मध्यनजर गरेर गुरिल्ला ट्रेकको रखांकन गरिएको छ । सशस्त्र द्वन्द्वको सुरुवातमा पहिलोपटक माओवादीले एकै दिन आक्रमण गरेका प्रहरी चौकीहरू रोल्पाको होलेरी र रुकुमको आठबिसकोट पनि यो रुटमा पर्दछन् । करिब चार दर्जनभन्दा बढी पर्यटकीय महत्वका क्षेत्रले यो रुटलाई थप मनमोहक बनाएका छन् । ग्रामीण बस्तीको अवलोकन र स्थानीय स्वादका लागि समेत यो क्षेत्र फरक मानिएको छ ।

गुरिल्ला पदमार्गमा पर्ने सम्पूर्ण स्थल द्वन्द्वताका तत्कालीन माओवादी र राज्य पक्षका सेना तथा प्रहरीले प्रयोग गर्ने मुख्य रुट भएको बताइन्छ । यो रुटमा साना–ठूला ताल, नदी तथा खोला, मन्दिर, झरनाको दृश्यावलोकन गर्न सकिन्छ । रुटको सुन्दर पक्ष के हो भने जहाँबाट पनि धौलागिरि हिमशृंखला तथा सिस्ने हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जिल्लाकै सुन्दर पर्यटकीय सम्पदा स्यार्पुताल, कमल ताल, देउरादली गुफा, ढोरपाटन, तकसेरा, काँडा, का“क्रीलगायत मगर संस्कृतिका धनी मगरबस्ती, सिस्ने हिमाल, पुथा हिमाललाई नियाल्दै सानो भेरी नदीको तिर हँुदै यो यात्रा अगाडि बढ्छ ।

१० वर्षे युद्धकालीन समयको अध्ययनका लागि गुरिल्ला ट्र्याक जीवन्त पुस्तकालय भएको पर्यटन पत्रकार महासंघका अध्यक्ष धनीराम शर्माले बताए । ‘गुरिल्लामार्गले धेरैजसो द्वन्द्वपीडित बस्ती छुने भएकाले द्वन्द्वपीडितका वेदना, क्षति भएका भौतिक संरचना अध्ययन गर्न गुरिल्ला ट्र्याक जीवन्त पुस्तकालय हो,’ उनले भने, ‘योसँगै विभिन्न संस्कृतिको अवलोकन गर्दा तत्कालीन युद्धको अनुभूति हुनेछ भने यसले युद्धका असरबारे पनि शिक्षा दिन्छ ।’

villagee
रुटको गाइडबुक अमेरिकी नागरिक एलोन्जो ल्योन्सले तयार पारेका थिए । सिजनको समयमा ढोरपाटन सिकार आरक्षमा सिकार खेल्नसमेत सकिने हुनाले यो रुट निकै आकर्षक हुन सक्ने बताइएको छ । यो मौसममा यहाँको भ्रमण गरिए यार्सागुम्बा पाइने क्षेत्रमा गएर त्यसको मजा पनि लिन सकिन्छ । असोज–कात्तिकमा ढोरपाटनमा हन्टिङको मजा उस्तै हुन्छ । चैत–वैशाखमा मगर संस्कृतिको अनि विभिन्न मेलापर्वको अवलोकन गर्न सकिन्छ । त्यस्तै, धार्मिक तथा पर्यटकीय मेला वर्षैभरि भइरहेका हुन्छन् यहाँ ।

यस्ता छन् समस्या
गुरिल्लामार्गको रेखांकन गरिएको चार वर्ष बितिसक्दा पनि सरकारले त्यसको विकासका लागि आवश्यक बजेट व्यवस्थापन गरेको छैन । गुरिल्लामार्गअन्तर्गत पर्ने ग्रामीण क्षेत्रमा होमस्टे सञ्चालन गर्ने, सांस्कृतिक प्रवद्र्धन गर्ने र आवश्यक पूर्वाधारमा लगानी गर्नेलगायत कार्य अझै हुन सकेका छैनन् । रुकुमका तकसेरा, रुकुमकोट बाफीकोट, महत, रोल्पाका थवाङ र जेलवाङलगायत गाउँमा होमस्टे सञ्चालन गर्ने कार्य प्रस्ताव भएका थिए । तर, त्यस क्षेत्रमा होमस्टेको विकास गर्न सकिएको छैन ।

पश्चिम नेपालमा नयाँ पैदलमार्गको प्रवद्र्धन र प्रचारमा क्रियाशील हिम आरोही मानबहादुर खत्रीका अनुसार यस क्षेत्र प्रकृतिको सुन्दरताले वैभवपूर्ण भए पनि व्यवस्थापकीय कार्य भने फितलो छ । ‘गुरिल्लामार्ग यस क्षेत्रको पर्यटन पर्वद्धनका लागि गतिलो आधार भए पनि सरकारी तहबाट यसको ठोस रूपमा योजना आउन सकेको छैन,’ उनले भने ‘रुटको विकासका लागि सरकारी तहबाट नै आवश्यक बजेट र ठोस योजना ल्याइनुपर्छ ।’

यस्तै, पछिल्लो समय सडक सञ्जाल विस्तार गर्ने नाउँमा रेखांकन मार्ग मासिँदै गएको स्थानीय बताउँछन् । दिगो विकासको अवधारणाविपरीत निर्माण गरिएका कतिपय पूर्वाधारले पनि गुरिल्लामार्गको सौन्दर्यमा चुनौती थपेका छन् । वर्षमा कति पर्यटकले यस क्षेत्रको अध्ययन–अवलोकन गर्छन् भन्ने कुनै सरकारी तथ्यांक छैन ।

पर्यटकको आगमन हुने गरे पनि त्यसको अद्यावधिक नहुनाले योजना निर्माणमा प्रभाव परेको पर्यटन व्यवसायी बताउँछन् । मध्यपहाडी लोकमार्ग, राप्ती लोकमार्ग, प्रस्तावित त्रिदेशीय पर्यटन मार्गलगायतसँग सो ट्र्याक जोडिए पनि ती सडक पर्यटनमैत्री हुन सकेका छैनन् । साथै, यसको आसपास क्षेत्रमा प्रत्येक वर्ष मेला–महोत्सवजस्ता कार्यक्रम त हुने गरेका छन्, तर ती कार्यक्रमको अर्थपूर्ण प्रभाव नपरेको पर्यटन व्यवसायीको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्