नेपालमा हेपाटाईटिस बि को संक्रमण बढ्दै



काठमाडौँ, १३ साउन । हेपाटाइटिस ‘डी’ को संक्रमण बढिरहेको छ ।  अन्य हेपाटाइटिसभन्दा ‘डी’बाट बढी संक्रमित भइरहेको तर यसबारे धेरैले ध्यान नदिएकाले यसबारे विषयमा बहस गर्नुपर्ने समय आएको शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पछिल्लो समय हरेक दिनजसो टेकु अस्पतालमा हेपाटाइटिस ‘डी’का संक्रमित आउने गरेका छन्, यौनसम्पर्क र रगतका माध्यमबाट हुने यस रोबारे धेरै व्यक्ति अनभिज्ञ भएकाले उपचारमा पनि निकै कम आउने गरेका छन् ।” आज विश्व हेपाटाइसिटस दिवस मनाइँदैछ ।
सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने व्यक्तिले रगत जाँच गराउँदा ‘डी’को संक्रमण भेटिएको डा पुनको भनाइ छ । सुत्केरीको रगत जाँच गर्दा र रक्तदानलगायत नर्स पनि यसको उच्च जोखिममा रहेको छ ।
सामान्यतया वाकवाक लाग्ने, खानमा रुचि नहुने, आँखा र पिसाब पहेँलो हुने, दाँया कोखामा अप्ठेरो हुने लगायत लक्षण देखापर्दा धेरैले ग्यास्ट्रिकको शंका गर्ने भएकाले पनि यसको उपचारमा नजाने चिकित्सक बताउँछन् । ग्याष्ट्रो एण्ड हेपाटोलोजी कन्सल्टयान्ट फिजिसियन प्रा डा विधाननिधि पौडेलले हेपाटाइटिस ‘डी’ अपूर्ण आरएनए नामक भाइरसबाट सर्ने हेपाटाइटिस भएको बताउँदै भन्नुभयो, “यो हेपाटाइटिस बीसँगै वा बी भइसकेकालाई मात्र संक्रमण गर्छ ।
यी दुवै हेपाटाइटिस शरीरमा मिल्दा खतरा हुन्छ, यसले छिटो सिरोसिस र क्यान्सर हुने सम्भावनालाई बढाउँछ, कतिपय अवस्थामा हेपाटाइटिस ‘बी’ को उपचार हुँदा यसको पनि उपचार हुन्छ ।” यदि छिटो सिरोसिस र क्यान्सर भएमा कलेजो प्रत्यारोपणको विकल्प नहुने चिकित्सकको भनाइ छ । यो रोगबाट बच्न यसको खोप लगाउनुपर्छ ।
हेपाटाइटिस ‘ए’ र ‘इ’
विश्वमा मुख्य पाँच हेपाटाइटिस देखिएका छन्– हेपाटाइटिस ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘इ’ । यी सबै हेपाटोट्रोपिक नामक भाइरसबाट लाग्छ । यो भाइरसको संक्रमणबाट हुने कलेजोको रोग हो । रोग लागेपछि कलेजो सुन्निने, फुल्ने, पछि गएर खुम्चिने र पाचन प्रणालीबाट कलेजोमा जाने रक्तनली थुनिने हुन्छ ।

डा पुनले गर्मीमा देखिने हेपाटाइटिस ‘इ’अर्थात् भाइरस हेपाटाइटिसले गर्भवतीलाई बढी असर गर्ने बताउनुहुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार गर्भवतीको मृत्युमध्येको ३० प्रतिशत मृत्यु हेपाटाइटिस ‘इ’ अर्थात् भाइरस हेपाटाइटिसको कारणबाट हुने गरेको छ ।
हेपाटाइटिस ‘ए’ र ‘इ’ प्रदूषित पानी, संक्रमित मानिसको दिसा, राम्ररी नपाकेका खानेकुरा खाँदा र ¥यालबाट पनि सर्न सक्छ । वर्षात्को पानी प्रयोग गर्दा यो रोग लाग्ने सम्भावना रहन्छ । यो विद्यालयका बच्चा र भीडभाड हुने स्थानमा बढी देखिन्छ । एउटै शौचालय प्रयोग गर्दा, सरसफाइ नहुँदा र दूषित पानी प्रयोग गर्दा रोग फैलन सक्ने सम्भावना रहन्छ । काठमाडौँ जस्तो शहरमा पानी र ढलको पाइप एकै स्थानमा हुँदा रोगको महामारी फैलन सक्ने खतरा सधैँ रहेको चिकित्सकले बताउँदै आएका छन् ।
डा पौडेलले भन्नुभयो, “हेपाटाइटिस ‘ए’ र ‘इ’ गर्भवतीलाई भएको खण्डमा कलेजो फेल भई गर्भ तुहिने र मृत्यु हुने खतरा बढी हुन्छ, विश्वमा हेपाटाइटिस ए को सुई भए पनि नेपालमा उपलब्ध छैन, ‘इ’ को सुई आजसम्म नबनेकाले रोग लाग्ने कारणबाट बच्नु नै उत्तम उपाय हो ।” रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्