मुख्य समाचार

दाङमा मह उत्पादनमा उल्लेख्य गिरावट, पाँच बर्ष यता कै कम उत्पादन

By थाहा अनलाइन

July 28, 2017

दिपक बोहरा,

तुलसीपुर ,१३ साउन।

दाङको मह उत्पादन उल्लेख्य मात्रामा गिरावट आएको छ । बिगत पाँच बर्ष यता कै तुलनामा आर्थिक वर्ष ०७३÷०७४मा दाङमा मह उत्पादनमा भारी मात्रामा गिरावट आएको तथ्याङ्कले देखाएको छ । मह उत्पादनका लागि प्रसिद्ध मानिने दाङमा भारी मात्रामा उत्पादनमा गिरावट आएपछि माहुरी पालक किसानले घाटा सहनु परेको छ ।

जिल्ला कृषि बिका कार्यालयको तथ्याङ्क अनुसार १३ हजार २९ मौरी घारबाट गत आर्थिक वर्षमा १३ दशमलव ७२ केजीका दरले १ सय ७९ मेट्रिक टन मात्रै मह उत्पादन भएको छ ।

आर्थिक बर्ष २०७२÷०७३ भन्दा गत बर्ष ४० प्रतिसतको हाराहारीमा मह उत्पादनमा गिरावट आएको जिल्ला कृषि बिकास कार्यालय दाङका बालि संरक्षण अधिकृत पिताम्बर बस्नेतले राप्ती समाचारलाई बताए । उनका अनुसार गत बर्ष उन्नत जातको मेलिफेरा माहुरी प्रतिघार बाट १५ किलो र स्थानीय माहुरी सेराना प्रतिघार बाट ८ किलो गरी १३ दशमलव ७२ को अनुपातमा मह उत्पादन भएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७२÷०७३ मा १२ हजार ७ सय १० मौरी घारबाट २२ दशमलव ४ केजीका दरले २ सय ८५ मेट्रिक टन मह उत्पादन भएको कृषि कार्यालयलेका तथ्याङकमा छ ।

तर गत आर्थिक बर्षमा त्यसको ३७ दशमलव २ प्रतिसतले मह उत्पादन घटेको बालि संरक्षण अधिकृत बस्नेतले बताए । उनका अनुसार आर्थिक बर्ष २०६९÷०७० मा ६ हजार ८ सय ७० घारबाट २ सय ५१ मेट्रिक टन, ०७०÷०७१ मा ७ हजार एक सय २ घारबाट २ सय २२, ०७१÷०७२ मा ७ हजार ६ सय ५२ घारबाट २ सय ३४ मेट्रिक टन मह उत्पादन भएको थियो । तर गएको आर्थिक बर्षमा भने घारको संख्यामा बृद्धि भएपनि मह उत्पादनमा कमी आएको छ ।

गतको आर्थिक बर्षमा मह उत्पादनमा बृद्धि ल्याउन युवा लक्षित सेरेना मौरी पालन कार्यक्रम सञ्चालन गरी २० जना किसानहरुलाई ५० प्रतिसत अनुदानमा मौरी पालन सामाग्री उपलब्ध उपलब्ध गराईएको बताए ।

त्यस्तै सामान्य कृषि प्रशास प्रबिधि बिस्तार कार्यक्रम अन्तरगत ४ सय भन्दा बढि किसानलाई माहुरी पालनका लागि उपलब्ध गराएको र राष्ट्रपति चुरे तराई मधेर संरक्षण बिकास कार्यक्रम अन्तरगत ९० प्रतिसत अनुदानमा २० जना किसानलाई माहुरी पालनका लागि सामाग्री उपलब्ध गराएको बस्नेतले बताए ।

गतको आर्थिक बर्षमा मात्रै दुई सय चार जना नयाँ माहुरी पालक किसान थपिएपनि मह उत्पादनमा बृद्धि आउन नसकेको बालि संरक्षण अधिकृत बस्नेतले जानकारी दिए ।

बालि संरक्षण अधिकृत बस्नेतका अनुसार २०५४ सालमा दाङमा भित्र्याईएको मेलिफेरा जातको माहुरीकोको गुण सुधार नहुँनु, प्राकृतिक रानु उत्पादन कार्य नबढन्, तोरी र चिउरीको फूल फुल्ने समय फरक पर्न जानु जस्ता कारणले मह उत्पादन घटेको हो । त्यस्तै बच्चा कक्षाबाट माहुरीले मह लिने गरेको, माहुरी चरण व्यबस्थित हुन नसकेको, माहुरीपालक किसानले माहुरीको चरणमा कुनै लगानीको नगरेले मह उत्पादन घटेको बालि संरक्षण अधिकृत बस्नेतले बताए । चालु आर्थिक बर्षमा यस्ता कुरालाई सुधार गरेर लैजाने बताए ।

दाङमा २५ हजार गोलाको माहुरीलाई चरन धान्न सक्ने क्षमता छ । त्यस माध्य तोरीको सिजनमा तीन हजार पाँच सय गोला माहुरी बाहिर बाट चरणका लागि दाङ ल्याउने गरिएको र हिउँदमा दाङबाट माहुरी चरणका लागि तीन हजार घार बाहिर लैजाने गरिएको बालि संरक्षण अधिकृत बस्नेतले बताए ।

अहिले जिल्लामा उन्नत जातको मेलिफेरा माहुरीका १० हजार छ सय ४७ आधुनिकर घार रहेका छन् । त्यसैगरी सेराना जातका दुई हजार तीन सय ९१ घार मध्य दुई सय चार घार आधुनिक रहेका छन् । दाङमा १८ हजार हेक्टरमा तोरी खेती हुने गरेको कार्यालयको तथ्याङ्क छ ।

माहुरी चराउनका लागि बाहिरी जिल्लाबाट समेत बर्षेणी दाङमा माहुरी ल्याउने गरिन्छ । दाङको साबिक रामपुर, लक्ष्मीपुर, घोराहीको माथिल्लो भाग, हापुर, धर्नामा चरनका लागि उपयुक्त क्षेत्र मानिन्छ ।

जिल्लामा उत्पादन भएको मह मध्ये ८० प्रतिशत बाहिर जाने गरेको छ । यहाँको मह नेपालगन्ज, बुटवल, पोखरा, काठमाडौँलगायतका शहरमा जाने गरेको छ । यस बर्ष मह उत्पादनमा गिरावट आएपछि किसान चिन्तित बनेका छन् । दाङ तोरी उत्पादनको पकेट क्षेत्र हो भने यहाँ चिउरीको फूल पनि प्रसस्त पाइने हुँदा यो माहुरी पालनका लागि उपयुक्त स्थान मान्निछ ।