अबको आन्दोलन विकास र उत्पादनका लागि– नेता शर्मा



रुकुम।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले अबको आन्दोलन विकास र उत्पादनको भएको बताउनुभएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१ मा आयोजित पालाकोट धार्मिक तथा पर्यटन महोत्सवको आज उद्घाटन गर्दै उहाँले राजनीतिक आन्दोलन पूरा भएको बताउनुभयो “नेपालमा लामो समय राजनीतिक आन्दोलन चल्यो र निष्कर्षमा पुग्यो”, उहाँले भन्नुभयो, “अबको आन्दोलन भनेको विकास र उत्पादनको हो ।” विकास र उत्पादनसँगसँगै अगाडि बढ्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।

त्यस्तै उहाँले यस आन्दोलनको नेतृत्व युवाले गर्नुपर्ने बताउनुभएको छ । युवाको परिचालन बिना समृद्धि हासिल गर्न नसकिने उहाँको भनाइ छ । “युवाहरु देशका खम्बा हुन्, उनीहरुलाई स्वदेशमै श्रम गर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्छ, युवाहरु लागे भने देशले समृद्धि हासिल गर्न समय लाग्दैन”, उहाँले भन्नुभयो ।राजनीतिक आन्दोलनलाई सफल पार्नका लागि जनताले जीउज्यान दिएर सहयोग गरेको र अब विकास र उत्पादनको आन्दोलनलाई सफल पार्न पनि त्यसैगरी लाग्नुपर्ने बताउनुभयो । पूर्वगृहमन्त्रीसमेत रहेका नेता शर्माले आजैबाट विकास र उत्पादनको आन्दोलनमा जोडिन सबैसामु अपिल गर्नुभयो । उहाँले कर्णाली प्रदेशलाई अग्र्यानिक प्रदेशका रुपमा विकास गर्न कर्णाली प्रदेश लागेको जानकारी गराउँदै सरकारको यस अभियानलाई पनि ध्यानमा राखेर उत्पादनमा जोडिन आग्रह गर्नुभयो ।

प्रतिनिधिसभाका सांसद समेत रहनुभएका नेता शर्माले पर्यटनलाई पनि उत्पादनसँग जोडेर हेर्नुपर्ने बताउनुभयो । प्रकृतिले निःशुल्क रुपमा दिएका पर्यटकीयस्थलको सुन्दरतालाई बेचेर त्यसलाई उत्पादनसँग जोड्नुपर्ने उहाँको सुझाव छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्