सहकारीको रकम हिनामिना सम्बन्धी गुप्तामाथि झुठा आरोप



दाङ ।  देउखुरीको राप्ती गाउँपालिका ५ सिसहनियाँमा रहेको प्रभात बचत तथा ऋण सहकारी संस्थाको रकम सन्तोषकुमार गुप्ताले हिनामिना गरेको भन्ने समाचार भ्रामक तथा झुठा रहेको क्रान्तिकारी पत्रकार संगठनले मंगलबार एक प्रेस विज्ञप्ती जारी गरी सो कुराको जानकारी गराएको छ ।

सोमवार विभिन्न संञ्चारमाध्यमहरुमा आएको समाचारमा ६६ लाख भन्दा बढी रकम गुप्ताले हिनामिना गरेको भन्ने कुरा झुठो रहेको र वास्तविक ठगी गर्ने व्यवस्थापक रमिता चौधरीले प्रहरी प्रशासन,स्थानीय सरकार, जिल्ला सहकारी संघ र सञ्चालक समिति समक्ष आफुले आर्थिक रकम हिनामिना गरेको लिखित रुपमा स्वीकार गरेको र मंसिर ४ गतेको भाकामा उक्त रकम तिर्ने मन्जुरनामा दिएको अवस्थामा विना आधार सुनियोजित तरिकाले आफुलाई फसाई व्यक्तिगत चरित्रहत्या गर्न खोजिएको पीडित गुप्ताले आरोप लगाएका छन् ।

संगठनका जिल्ला सचिव जंग रेउले, कोषाध्यक्ष विदुर एम.सी र सदस्य ओमप्रकाश गुप्ता जारी विज्ञप्तीमा ठगी गर्ने व्यवस्थापक रमिता चौधरी र उनलाई सहयोग गर्ने पूर्व सचिव तथा निजका श्रीमान बसन्तकुमार चौधरी काठमाण्डौमा खुलेआम घुम्दा पनि प्रहरी प्रशासन मुकदर्शक बनेको छ । ठगी गर्ने गिरोहले आफु समक्ष गरेको कवुलियत गरेको फर्जी तमसुक,नक्कली ऋणी, ऋण समितिले ऋण स्वीकृत गरे पनि कार्यसमितिले ऋण अनुमोदन नगरी व्यवस्थापकले ऋण लगानी गरेको र स्थापना काल देखि संस्था नियम विपरीत चलाइएको जस्ता थुप्रै प्रमाणहरु हुँदाहुदै निर्दोष गुप्तालाई सञ्चालक समितिका अध्यक्ष टेकबहादुर कार्की,उपाध्यक्ष शिवहरि चौधरी र कोषाध्यक्ष रामप्रसाद चौधरीले एकलौटी विना निर्णय इलाका प्रहरी कार्यालय भालुवाङमा किटानी जाहेरी दिई फँसाएको बताइएको छ । केही समय पहिलेदेखि गुप्ताले प्रकाशन प्रसारण गर्दै आएका समाचारबाट रुष्ट भएको पक्षधरले सहकारीको नाम जोडेर सुनियोजित तरिकाले फँसाएको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्