राष्ट्रिय परिचयपत्र वितरण मंसिर ३ देखि सुरु गरिने



पाँचथर – मुलुकमै पहिलो पल्ट मंसिर ३ गतेबाट राष्ट्रिय परिचयपत्र वितरण हुने भएको छ । लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय परिचयपत्रको वितरण पाँचथरबाट सुरु हुन लागेको हो । राष्ट्रिय परिचयपत्र वितरणका लागि जिल्लामा संकलन भएका विवरणका आधारमा कार्ड छापिसकिएको छ।

‘ऐतिहासिक रुपममा पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेका छौं । सम्पूर्ण नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने सरकारको नीति कार्यान्वयनमा उतार्ने कार्यको सुरुआत् पाँचथरबाट हुने भएको छ । राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलन गर्ने काम भइरहेको छ, सोही अनुसार परिचयपत्र उत्पादनको काम पनि भइरहेको छ’, राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका महानिर्देशक दीपक काफ्लेले भने, ‘राष्ट्रिय कार्यक्रम आयोजना गरी मंसिर ३ गतेबाट परिचयपत्र वितरण गर्ने तयारी थालेका छौं । तीन वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने रणनीतिक योजना कार्यान्वयनको प्रारम्भ गर्न लागेका छौं । पाँचथरका सबै जनता र सिंहदरबारका अतिविशिष्ट व्याक्तित्वसहित सात हजार कर्मचारी गरी एक लाख १७ हजारजनालाई पहिलो चरणमा राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो।’

केन्द्रले सोमबार फिदिममा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट परिचयपत्र वितरणको काम सुरु गर्ने जानकारी दिएको छ । हालसम्म ५० हजार ९ सय ७४ जनाको विवरण संकलन भइसकेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो । विवरण संकलन कार्य जारी राख्दै वितरण पनि सुरु गरिने काफ्लेले बताए । उनका अनुसार संकलित विवरणका आधारमा कात्तिक १५ देखि कार्ड छाप्ने काम प्रारम्भ भएको छ । विवरण संकलन गरेझैं वडा तहमै पुगेर परिचयपत्र वितरण गर्ने तयारी भएको जानकारी काफ्लेले दिए।

पहिलो चरणमा पाँचथर र सिंहदरबारका कर्मचारी, दोसो चरणमा १५ जिल्ला, तेस्रो चरणमा २५ जिल्ला र त्यसपछि बाँकी ३६ जिल्लामा परिचयपत्र वितरण गर्ने योजना छ । ‘नेपालको संविधानले सम्पूर्ण नागरिकको अभिलेख राख्ने भनेअनुसार यो काम अघि बढाइएको छ । सम्पूर्ण नागरिकको अभिलेख सुरक्षित रुपमा राख्न यो काम भइराखेको छ । राष्ट्रिय सुरक्षा अभियानलाई सहयोगी हुने र पछि अन्य सरकारी सेवा जोड्दै बहुउपयोगी राष्ट्रिय परिचत्रपत्रको रुप दिनेगरी वितरण गर्न लागिएको हो’, काफ्लेले भने, ‘राष्ट्रिय परिचयपत्र पाउने पहिलो व्यक्ति पनि छनोट हुनेछ । वितरणका लागि तयारी अन्तिम चरणमा पुगेको छ । समारोहलाई व्यवस्थित गर्ने तयारी थालेका छौं।’

गाउँगाउँमै पुगेर परिचयपत्र वितरण हुने प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । पुस दोस्रो सातासम्ममा पहिलो चरणको विवरण संकलन गरिसक्ने तयारी भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । जिल्ला प्रशासन कार्यालय पाँचथर र इलाका प्रशासन कार्यालय रविबाट पनि विवरण संकलन गर्ने व्यवस्था मिलाइएको छ।

विवरण संकलनका लागि १९ जना अपरेटर र पाँचजना प्रमाणीकरण अधिकृत खटाइएको छ । संकलन केन्द्रमा बायोमेट्रिक्स लिने, फोटो खिच्ने, विवरण भर्ने तथा विवरण भरेकालाई रसिद दिने काम हुन्छ । एउटै कार्डबाट विभिन्न सुविधा प्राप्त हुने डिजिटल कार्ड वितरण गर्ने योजना छ । परिचयपत्रमा नाम, जन्ममिति, बाबुआमाको नाम, बाजेको नाम, बायोम्याट्रिक्स (औंठा) छापसहितको विवरण समावेश हुन्छ । स्मार्ट कार्डजस्तो परिचयपत्र वितरण हुने भएको छ।

एक घण्टामा पाँच सय कार्ड प्रिन्ट हुने भएकाले नागरिकले चाँडै परिचयपत्र पाउने काफ्लेले बताए । आर्थिक वर्ष २०६६–६७ देखि परिचयपत्र वितरण गर्ने नीतिगत निर्णय भएको थियो । एकीकृत भण्डार, एकअर्कामा नमिल्ने परिचयपत्र नम्बर, विद्युत्सेवा लगायतका विशेषता परिचयपत्रको रहेको बताइएको छ । पहिलो चरणमा एसियाली विकास बैंकको अनुदान सहयोगमा केन्द्र व्यवस्थापन र विवरण संकलन भएको हो । कार्डमात्र नभई विवरण सकंलन गर्ने प्रणालीसमेत भएकाले यो विशिष्ट रहेको काफ्लेले बताए।गिरिराज बाँस्कोटा,nagariknews

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्