बनेपा । बनेपा नगरपालिका वडा नं १४ साँगादेखि धुलिखेल नगरपालिकको बसपार्कसम्मको अरनिको राजमार्गअन्तर्गत सडक मापदण्डभित्र बनाएका घर टहरा भत्काएको हप्तौँ भए पनि मुआब्जा छिटो वितरण गर्न पीडितहरूले माग गरेका छन् । साँगाका ईश्वर मानन्धरले आफ्नो घर नगरपालिका र भक्तपुर डिभिजन सडक कार्यालयले भत्काएकामा अहिलेसम्म पनि मुआब्जा कहिले पाउने भन्ने नै थाहा पाउन नसकेको भन्दै आक्रोश पोख्नुभयो ।
सरकारले २०३१ सालअघि बनाएको संरचनाको मुआब्जा दिने भने पनि विसं २०२६ देखि सो स्थानमा घर बनाएर साना होटल सञ्चालन गर्दै आउनुभएका उहाँले हप्तौँ बितिसक्दा पनि मुआब्जा कहिले पाउँछ भन्नेमा कुनै जानकारीसमेत नदिएको भन्दै छिटो वितरण गर्नुपर्ने बताउनुभयो । “घर भने पनि जग्गा भने पनि त्यही मात्र थियो, अहिले डेरामा बसिरहेका छौँ”, मानन्धरले भन्नुभयो, “सडक विस्तार गरेकामा खुशी छौँ तर हामीले अहिलेसम्म मुआब्जा पाइरहेका छैनौँ, नपाइकन सुकुम्बासी भएर बस्ने ? यो त भएन नि हामी कहाँ गएर बस्ने ?”, उहाँको प्रश्न थियो
“नगर प्रमुख लक्ष्मीनरसिंह बादेले दशैँ अगाडि नभत्काउने र भत्काउनुभन्दा अगाडि नियमअनुसार मुआब्जा पाउनेको मुआब्जा वितरण गर्ने भन्नुभएको थियो, तर अगाडि नै भत्कायो”, मानन्धारले भन्नुभयो । बनेपा नगरपालिका–१४ का वडाध्यक्ष गौरी राउतले नक्सापासअनुसारको मुआब्जा पाउनुपर्ने व्यक्तिको विवरण सङ्कलन गरी नगरपालिकामा पेश गरी त्यहाँबाट डिभिजन सडक कार्यालयमा पेश गर्ने काम अगाडि बढिसकेको बताउनुभयो ।
डिभिजन सडक कार्र्यालयका इञ्जिनीयर गोपालप्रसाद खकुरेलले जिल्लास्थित प्रमुख जिल्ला अधिकारीको अध्यक्षमा बनेको समितिले सबै कागजातसहितको विवरण सङ्कलन गरी पेश गरेपछि मात्रै त्यसका लागि प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । दुई जिल्लाको सिमानामा रहेको सो ठाउँमा सडक मापदण्ड मिचेर बनाएका दर्जनौँ घर टहरा भत्काइएको छ । काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको नौ किलोमिटर सडक फराकिलो बनाउन अनाधिकृतरूपमा बनेका घर टहरा भत्काएर सडक फराकिलो बनाउन काम शुरु गरिएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।