नेपाल र भारतका धेरै मानिस अझै पनि छोरी जन्मिँदा खुशी हुँदैनन्। ‘छोरा पाए खसी छोरी पाए फर्सी’ भन्ने उखान त चलेकै छ नेपाली समाजमा। छोरी जन्माउँदा समाजमा अनेक समस्या झेल्नु पर्ने भन्दै गर्भमै भ्रूणको हत्या गर्ने सयौँ दम्पती छन्। छोरा नजन्मिएसम्म सन्तान पाइरहने दम्पती पनि हाम्रै समाजमा छन्।
भारतको एउटा यस्तो नर्सिङ होम छ जहाँ छोरी जन्माउने दम्पतीलाई कुनै पनि शुल्क लाग्दैन। बरु खुशियालीमा अस्पतालले नै मिठाइ बाँड्ने गरेको छ। वाराणसीको पहाडी इलाकामा नर्सिङ होम चलाउँछिन् डा.शिप्राधर श्रीवास्तव। उनको नर्सिङ होमको नाम हो, धर नर्सिङ होम। उनको अस्पतालमा डेलिभरी गर्न आएका महिलाले छोरी जन्माए भने शुल्क मात्रै लिन्नन्, उनीहर”लाई मिठाइ किनेर समेत बाँड्ने गरेकी छन्।
भ्रूण हत्या र छोरीको जन्मलाई प्रोत्साहन गर्न यस्तो गर्दै आएकी उनी बताउँछिन्। उनको यो कदमले डेलिभरी गर्न गएका परिवार नै छक्क पर्ने गरेका छन्। ‘किन शुल्क नलिएको?’ जवाफमा डा. श्रीवास्तव भन्छिन्, ‘मानिसमा छोरीप्रति अहिले पनि नकारात्मक सोच छ। यो सोच बदल्न म यो प्रयास गरिरहेकी छु, म चाहन्छु छोरा हुन् या छोरी अबोध शिशुलाई मानिसले खुशीले अपनाउन्।’ उनको नर्सिङ होममा अहिलेसम्म १०० छोरीले जन्म लिइसकेका छन्।
कुनै छोरीका बाबुअामासँग पनि उनले शुल्क लिएकी छैनन्। यति मात्र होइन शिप्राधरले गरिब परिवारकी छोरीहरूको शिक्षाको जिम्मेवारी पनि लिएकी छिन्। यो कार्यमा उनलाई श्रीमान् डा.मनोजकुमार श्रीवास्तवले पनि साथ दिएका छन्। उनी पनि डाक्टर हुन्।यो खबर सुनेर प्रधानमन्त्री नरेन्द्र मोदी पनि खुशी भए र उनको नर्सिङ होममा पुगे। भारतीय प्रधानमन्त्री मोदीले प्रत्येक महिनाको ९ तारिखमा जन्म लिने हरेक छोरीको परिवारसँग कुनै किसिमको शुल्क नलिन सबै अस्पताललाई आह्वान गरेका छन्।
एजेन्सी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।