मुख्यमन्त्री पोखरेल र अमेरिकी राजदुत बिच भेटवार्ता



वुटवल । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल र नेपालका लागि महामहिम अमेरिकी राजदुत ¥याण्डी डब्लु बेरीले आज भेट गर्नुभएको छ ।मुख्यमन्त्री कार्यकक्षमा भएको भेटमा संघीयता कार्यान्वयनमा हालसम्म भएका काम,समृद्धिका लागि प्रदेशका प्राथमिकता,नेपालको विकासमा अमेरिकाले गरेको सहयोग र सहयोगका क्षेत्रबारे छलफल भएको छ । मुख्यमन्त्रीले तीन तहको चुनावपछि राजनैतिक संघीयता पूर्ण रुपमा कार्यान्वयन भएको, प्रशासनिक पुनःसंरचना र वित्तीय संघीयता कार्यान्वयन हुन बाँँकी रहेको जानकारी गराउनुभयो ।

प्रशासनिक पुनःसंरचनाले प्रशासनिक संघीयता कार्यान्वयन हुने र वित्तीय संघीयता कार्यान्वयन भएपछि संघीयताको पूर्णरुपमा व्यवहारिक अभ्यास र कार्यान्वयन हुने जानकारी मुख्यमन्त्रीले राजदुत बेरीलाई जानकारी गराउनुभयो । भेटमा मुख्यमन्त्रीले प्रदेश पाँच मिनी नेपालको रुपमा रहेको भन्दै प्रदेशको विशेषताहरु बारे बताउनुभयो । यो प्रदेशमा हिमाल, पहाड र तराई रहेको र नेपालका अरु सबै प्रदेशका विशेषताहरु रहेको मुख्यमन्त्रीले राजदुतलाई जानकारी गराउनुभयो ।

भेटमा राजदूत बेरीले नेपालको संघीयता कार्यान्वयनमा अमेरिका सरकारले के सहयोग गर्न सक्छ भन्ने जिज्ञासा राख्नुभएको थियो । उहाले अमेरिकाले २ सय ५० वर्षदेखि संघीयताको अभ्यास गर्दै आएको र अझै धेरै गर्न बाँकी रहेको तथा संघीयता कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभयो । अमेरिकाले ३० वर्ष अघि राप्ती एकीकृत ग्रामीण विकास कार्यक्रम सञ्चालन गरेर पूर्वाधार विकासमा ठूलो टेवा पु¥याएको स्मरण गर्दै मुख्यमन्त्रीले अझै पूर्वाधार विकास विकासका लागि ठूलो श्रोतको आवश्यकता रहेको बताउनुभयो । उहाँले प्राविधिक शिक्षाको महत्वपूर्ण केन्द्र स्थापनाका लागि सघाउन आग्रह गर्नुभयो ।

भेटमा राजदुत बेरीले समावेशी लोकतन्त्र, सुशासन र स्थायित्वका लागि सधैं मिलेर काम गर्ने जानकारी गराउनुभयो । उहाले आफूले लुम्बिनीको भ्रमण गरेको र यस्ता सम्पदा जोगाएर अघि बढ्न सके नेपालले लाभ लिन सक्ने बताउनुभयो । कृषिको आधुनिकीकरण र पर्यटन विकासले नेपालले समृद्धि हासिल गर्न सक्ने उहाले बताउनुभयो । राजदुत भएर आएपछि पहिलोपल्ट लुम्बिनी भ्रमण गरेकोमा मुख्यमन्त्रीले राजदुत बेरीलाई धन्यवाद दिनुभयो ।

त्यसैगरी आजै मुख्यमन्त्रीलाई बेलायती सहयोग नियोग डिएफआइडी अन्तगर्तको रोजगारका लागि सीप कार्यक्रमका टिम लिडर बाल्जित भोराले भेट गर्नुभएको छ । भेटमा रोजगार श्रृजना, सीप विकास र आर्थिक वृद्धिका लागि सरकार र निजी क्षेत्र बीच सहकार्य गर्ने विषयमा प्रदेश सरकारसंग मिलेर कार्यक्रम कार्यान्वयन गर्ने बारे छलफल भएको छ । चार वर्षे यो कार्यक्रम सञ्चालन गर्न नेपाल सरकार अर्थमन्त्रालयसंग सम्झौता भइरहेको छ । त्यस अनुरुप यस प्रदेशमा प्रदेशको आवश्यकता, संभावना र क्षमताका अधारमा कार्यक्रम पहिचान तथा सञ्चालन गर्ने बारेमा प्रारम्भिक छलफल भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्