जनार्दन शर्मा गरे मध्यपहाडी लोकमार्गको अनुगमनः



रुकुम ।  पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ले मध्यपहाडी पुष्पलाल लोकमार्गको निर्माणाधीन पश्चिम खण्डको अनुगमन गर्नुभएको छ ।उहाँले रुकुमको मुसीकोटदेखि पोखरासम्मको खण्डको तीन दिन लगाएर अनुगमन गर्नुभएको हो ।सो क्रममा कतै पनि पुल निर्माण नभएको र निर्माण भएको भनिएको सडक पनि अस्तव्यस्त रहेको पाइएको शर्माको सचिवालयले जनाएको छ । मन्त्री शर्माले आफ्नै पहलमा इञ्जिनियरसहितको टोली लिएर अनुगमन गर्नुभएको हो ।

सो क्रममा रुकुमकोटदेखि बाग्लुङसम्मको खण्ड अस्तव्यस्त रहेको अनुगमनमा भेटिएको इञ्जिनियरसमेत रहेका शर्माका स्वकीय सचिव श्रीकुमार कठायतले जानकारी दिनुभयो । ‘रुकुमगाढ खोलादेखि पूर्व बुर्तिवाङसम्म पाँच वटा पुल बनाउने जिम्मा पाएका कम्पनीले काम गरेका छैनन्’– उहाँले भन्नुभयो– ‘कसैले पिलरसम्म गाढेका छन् भने धेरैले त्यही पनि गरेका छैनन् ।’सडकको ट्रयाक पनि अस्तव्यस्त रहेको उहाँले जानकारी दिनुभयो । कालिका कन्स्ट्रक्सनले अलिअलि काम गरे पनि बाँकी निर्माण कम्पनीले काम अस्तव्यस्त बनाइएको अनुगमनका क्रममा पाइएको कठायतले जानकारी दिनुभयो ।

सबैलाई जम्मा गरेर तत्काल काम गर्ने गरी पहल थाल्छुः शर्मा
अनुगमन गरेपछि पूर्वमन्त्री शर्माले लोकमार्गको निर्माण कार्य अस्तव्यस्त रहेकाले राजधानी फर्केलगत्तै मन्त्री, सचिव, विभागीय प्रमुख, निर्माण कम्पनी र सम्बन्धित निर्माणको जिम्मा लिएका इञ्जिनियरहरुलाई एक ठाउँमा राखेर निर्माणको काम तत्काल अघि बढाउने बढाउने बताउनुभएको छ ।उहाँले निर्माण सम्पन्न हुने सम्बन्धित स्थानीय तहले सो खण्डको अनुगमन गर्ने गरी ब्यवस्था मिलाउन पनि पहल गर्ने बताउनुभयो । सरकारले प्राथमिकतामा राखेको राष्ट्रिय गौरवको योजनाको यो हालत हुनु दुःखद भन्दै उहाँले प्रधानमन्त्रीसँग समेत कुरा गर्ने बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्