प्रदेश नं. ५ को वार्षिक समीक्षा



 

दाङ । प्रदेश ५ का सरकारी अस्पतालमा जनशक्ति र उपकरण अभावले प्रभावकारी सेवा दिन नसकेको पाइएको छ । अस्पतालले प्रभावकारी सेवा दिन नसकेपछि सरकारले स्वास्थ्य अवस्था समीक्षा गरी सुधारका लागि करोेडौँ रुपैयाँसम्म अनुदान दिने कार्यक्रम ल्याउन लागेको छ  प्रदेशस्तरीय वार्षिक स्वास्थ्य समीक्षा गरी नयाँ कार्यक्रम अघि सारिएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका कविराज निरीक्षक गणेश भट्टराईले कार्यक्रममा ०७४ / ७५ को प्रगति र समीक्षा गरी सुधारका लागि नयाँ कार्यक्रम ल्याउने तयारी भएको बताए । कार्यक्रममा अहिलेको संगठन संरचना तथा जनशक्ति व्यवस्थापनले काम गर्न समस्या भएको सहभागीले गुनासो गरेका थिए । कविराज निरीक्षक भट्टराईका अनुसार प्रदेशमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन तीनवटै तहका सरकारको समन्वयमा काम गर्नुपर्ने आवश्यकता रहेको बताए । प्रदेशमा विभिन्न स्थानमा तत्काल प्रदेश स्वास्थ्य कार्यालय स्थापना गर्न सुझाब आएका थिए ।

४० प्रतिशत जनशक्ति अभाव
प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले विभिन्न अस्पतालको अवलोकन गर्ने क्रममा अवस्था नाजुक पाइएको बताए । पाल्पाको रामपुरमा ५० बेडको अस्पताल भए पनि जम्मा दुईजना करारमा नियुक्त डाक्टरबाट काम चलाइएको पाइएको उनले बताए । ‘शल्यक्रिया गरेर प्रसूति सेवा दिन सक्ने अवस्था त्यहाँ रहेनछ,’ मन्त्री बरालले भने, ‘अन्य अस्पतालमा पनि समस्या छन् ।’ उनका अनुसार ४० प्रतिशत जनशक्ति अभाव छ । स्वास्थ्य उपकरणको पनि उस्तै समस्या । ‘झन्डै ४० वर्षअगाडि खरिद गरिएका उपकरणबाट काम भइरहेको पाइएको छ, त्यस्ता अस्पतालमा दक्ष जनशक्ति भए पनि प्रयोगशाला राम्रो नहुँदा रिफर गर्नुपर्ने अवस्था रहेछ,’ मन्त्री बरालले भने । भौतिक पूर्वाधारमा पनि निकै समस्या रहेको उनले बताए ।

करोडौँ दिने तयारी
प्रदेश ५ सरकारले सरकारी अस्पतालहरूमा सुधार ल्याउन करोडौँ रकम अनुदान दिने कार्यक्रम अघि सारेको छ । जिल्ला तहका अस्पताललाई २५ देखि ३० लाखसम्म रकम उपलब्ध गराउने तयारी रहेको मन्त्री बरालले बताए । मर्मतसम्भार र उपकरण खरिदका लागि दिइने सो रकम अञ्चल अस्पताललाई चारदेखि आठ करोडसम्म दिइने उनले बताए । त्यस्तै आयुर्वेद अस्पताललाई पनि अनुदान दिने योजना रहेको मन्त्री बरालले बताए ।

यस्तो छ अवस्था
नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पतालका मेडिकल सुपरिटेन्डेट डा। अनन्तकुमार शर्मा ११औँ तहका हुन् । सो अस्पतालमा उनीमातहत चार मेडिकल अधिकृत र आठ विशेषज्ञ डाक्टरको दरबन्दी छ । तर, सो दरबन्दीअनुसारका एकजना पनि डाक्टर नरहेको उनले बताए । आमा सुरक्षा कार्यक्रमअन्तर्गत एक डाक्टर तथा अर्का एक करारमा नियुक्त गरिएको छ । केही छात्रवृत्तिमा अध्ययन गरेर आएका डाक्टरबाट काम चलाउनुपरेको उनले बताए । जनशक्ति मात्रै हैन अस्पतालमा डिजिटल एक्सरे मेसिन र एम्बुलेन्स तथा एउटा गाडीसमेत छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्