मुख्य समाचार

डा। केसीको स्वास्थ्य अवस्था बिग्रँदै,आज पनि वार्ता हुदै

By थाहा अनलाइन

July 30, 2017

सैघाली खबर काठमाण्डौ, १५ साउन। सात दिनदेखि अनसनमा रहेका डा। गोविन्द केसीले उठाएका माग पूरा गर्न आइतबार पनि वार्ता हुने भएको छ । यसअघि दुईपटक भएका वार्ता बिना निष्कर्ष सकिएपछि फेरि वार्ता गर्ने तयारी भएको हो । यसैबिच डा। केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । पानी र औषधि पनि खान नमानेपछि जोखिम बढेको उहाँको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

उपचारमा संलग्न डा। सुवास आचार्यका अनुसार सामान्य अवस्थामा ७० हाराहारीमा हुनुपर्ने मुटुको चाल बढेर २५० सम्म पुगेको छ । यसरी बढ्दा झन् जोखिम हुने उहाँको भनाई छ । डा। केसीलाई यसपटक रिंगटा लाग्ने, मांसपेशी बाउडिने, छाती दुख्ने समस्या देखिएको छ भने तीन दिनदेखि पिसाबमा किटोन पोजिटिभ देखिएको छ । उहाँलाई स्लाइन दिएर राखेपनि अवस्था नसुध्रिएको डाक्टरले बताएका छन् । डा। केसीलाई शनिबारदेखि अक्सिजन दिन थालिएको छ । यसअघिका सम्झौता पालना गर्नुपर्ने, आफ्ना सुझावसहित चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने, विद्यार्थी भर्ना शुल्क र सम्बन्धन सम्बन्धी अधिकार त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदबाट आइओएममा फिर्ता गर्नुपर्ने, सरकारी निर्देशन र अदालतको आदेशलाई नटेर्ने मेडिकल कलेजलाई कारवाही गर्नुपर्ने लगायत माग राखी डाक्टर केसी ११ औं पटक अनसनमा बस्नुभएको छ ।