पहिरोका कारण घर छाडेर बस्न बाध्य,१ सय ५० घर पहिरोको उच्च जोखिममा



सैघाली खबर
बैतडी, १४ साउन । जिल्लाको दोगडाकेदार गाउँपालिका ८ सित्तड डोलका लोगसिंह भाटलाई अहिले आफ्नो घर छोडेर अन्तै बस्नुपरेको छ । यसै साता आएको पहिरोले घरको आँगन पूरै बगाएपछि भाट परिवारले घर छोडेका हुन् ।

भाटजस्तै डोलमा अहिले १ सय ५० परिवार पहिरोको जोखिममा बसेका छन्।२०१८ सालदेखि आउन थालेको पहिरोले अहिले पनि गाउँलेलाई सुत्न दिएको छैन । ‘वर्षात्को समयमा लगातार आइरहने पहिरोले कतिखेर घरखेत बगाउने हो थाहा हुँदैन । हरेक वर्षामा अनिदो रात काट्नुपर्छ ।’ स्थानीय लोकेन्द्रबहादुर चन्दले भने, ‘हाम्रो गाउँका हरेक घर बांगा भएका छन् ।

 

भित्रभित्रै जमिन भास्सिएपछि घर बांगा भएका हुन् । पहिरोको जोखिममा बस्नु परेको छ ।’
डोल पहिरोले अहिलेसम्म नौजनाको ज्यान लिइसकेको छ भने २ सय रोपनी खेतीयोग्य जमिन बगाइसकेको छ । अन्नपूर्णमा भगीरथ अवस्थी लेख्छन्( अहिले पनि माथिबाट पहिरो आउने क्रम नरोकिएको स्थानीय वीरबहादुर चन्दले बताए । उनले भने, ‘२०१८ सालमा पहिरो आएको हो ।

उतिबेलादेखि हामी पहिरोको जोखिममा बसिरहेका छौं तर हाम्रा लागि न सरकार छ, न अरू कोही ।’

पञ्चायतकालमा डोलबस्तीलाई स्थानान्तरण गर्नुपर्ने भन्दै तत्कालीन राजा वीरेन्द्रले हुकुम प्रमांगीसमेत दिएका थिए । तर, राजनीतिक खिचातानी भएपछि डोलबासीको अन्यत्र जाने सपना अधुरै रह्यो ।
आर्थिक अवस्था सबल भएकाहरू तराईतिर जमिन किनेर उतै गए । गरिब र दलित समुदायका नागरिक भने पहिरोको जोखिममै बस्न बाध्य छन् ।

पछिल्लो समयमा पहिरोले विकराल रूप लिन थालेको स्थानीवासी देवदत्त जोशीले बताए । उनले भने, ‘अहिले त पहिरोको जोखिम नभएको ठाउँ नै छैन । वर्षाको बेला जाग्राम बसेर रात काट्नुपर्छ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्