बोक्सी भन्दै निर्घात कुटपिट



धादिङ — धादिङको सिद्धलेक–४ गौंथलेमा एक वृद्धामाथि बोक्सी आरोपमा कुटपिट र दुर्व्यवहार गरिएको छ । कुटपिटबाट उनी गम्भीर घाइते छिन् । स्थानीय ७३ वर्षीया एकल वृद्धा सेतीमाया लायो मगरलाई मलमुत्र खुवाई दुर्व्यवहार र निर्घात कुटपिट गरिएको हो। गम्भीर घाइते रहेकी उनलाई थप उपचारका लागि काठमाडौंको स्टार अस्पतालमा भर्ना गरिएको छ।

गत कार्तिक २८ गते साँझ ७ बजे ३ जना धामी र एक सैनिक जवान मिलेर उनलाई बोक्सी आरोपमा मलमुत्र खुवाई निर्घात कुटपिट गरिएको पीडितका आफन्तले बताए। ‘मेरी हजुर आमालाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरियो। मलमुत्र पनि खुवाएका रहेछन्। घरमा रुवाबासी भएपछि दोस्रो दिन प्रहरीले चार जनालाई पक्राउ गर्‍यो,’ पीडित तथा घाइते लाया मगरकी नातिनी जुना मगर पौडेलले भनिन्। विदामा घर आएका सेनामा कार्यरत एक स्थानीयले नै मुख्य रुपमा कुटपिट गरेको उनको आरोप छ।

कुटपिट र दुर्व्यवहारमा धामीहरु ५५ वर्षीय हर्कबहादुर पुलामी, ६० वर्षीय खोलबहादुर पुलामी, ४० वर्षीय यमबहादुर मगर र सेनाको कुलेखानीस्थित राजगणमा कार्यरत धनबहादुर गुर्छान मगर संलग्न रहेको पीडितका आफन्तको आरोप छ।कुटपिटमा संलग्न चारै जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ। प्रहरीका अनुसार घटनामा संलग्न सेनाका जवान मगरले भाग्ने प्रयास गरे पनि प्रहरीको सक्रियतामा उनलाई पक्राउ गरिएको छ। पीडित परिवारका अनुसार घाइते लायोलाई गोबर र दुबो समेत खुवाइएको थियो।स्थानीय राजनैतिक दलका कार्यकर्ताहरुले पीडित पक्षलाई गाँउमै मिल्न चर्को दवाव दिएकोले उजुरी गर्न समेत ३ दिन ढिलाई भएको परिवारजनले वताएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्