प्रधानमन्त्रीको सपना दाङले साकार पार्ने



दाङ । प्रधानमन्त्रीको प्रत्येक नेपालीका घर/घरमा पाईपबाट ग्यास पु¥र्याउँने सपना दाङले साकार पर्ने भएको छ । घोराही उपमहानगरपालिकाले फोहोरबाट ग्यास उत्पादन गर्ने भएपछि प्रधानमन्त्रीको सपना साकार हुने भएको हो । ग्यास उत्पादनका लागि एक निजी कम्पनीलाई जिम्मा समेत दिइसकेको उप– महानगरपालिको जनाएको छ । एक वर्ष भित्रै ग्यास उत्पादन गर्ने गरी उपमहानगरले नेपाल ऊर्जा विकास कम्पनी प्रालिलाई २० वर्षका लागि जिम्मा दिएको नगर प्रमुख नरुलाल चौधरीले जनाए । दुई वर्ष लामो गृहकार्यपछि घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र ललितपुर र नेपाल ऊर्जा विकास कम्पनी प्रालि काठमाडौँबिच सामेवार त्रिपक्षीय सम्झौता भएको छ ।

नगरका तर्फबाट प्रमुख नरुलाल चौधरी, ग्यास उत्पादन गर्ने निजी कम्पनीका तर्फबाट नेपाल ऊर्जा विकास कम्पनी प्रालिका निर्देशक श्रीराम अधिकारी र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट कार्यक्रम व्यवस्थापक प्रकाश अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्  सम्झौता पत्रमा साक्षीकारुपमा घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनार र सिनियर डिभिजन इन्जिनियर युवराज पौडेलले हस्ताक्षर गरेका छन् । निजी कम्पनीका तर्फबाट नेपाल ऊर्जा विकास कम्पनी प्रालिका प्रबन्धक फुलराज चौधरी र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका व्यवसाय विकास अधिकृत दीपक पौडेल छन् । २० करोड रुपैयाँको लागतमा उक्त ग्यास उद्योग स्थापना हुने छ । २० करोडमा ६० प्रतिशत निजी कम्पनी र ४० प्रतिशत विश्व बैङ्कको सहयोग रहने छ ।

घोराही उपमहानगरपालिका–१६ करौटी डाँडामा रहेको ल्याण्डफिल साइडमै ग्यास उद्योग स्थापना हुने छ । सम्झौतापछि तत्कालै निर्माण प्रक्रिया थालेर १४ महिनामा ग्यास उत्पादन गरिने कम्पनीले जनाएको छ । कम्पनीले घोराही उपमहानगरपालिका क्षेत्रबाट उत्पादन भएका कुहिने फोहोरबाट दैनिक एक हजार तीन सय किलो ग्यास निकाल्ने भएको छ । त्यसै गरी त्यहीँबाट ६ टन प्राङ्गारिक मल पनि उत्पादन गरिने कम्पनीले जनाएको छ । त्यसबाट सर्वसाधारणलाई सिलिन्डर मार्फत ग्यास वितरण गर्ने बताएको छ ।

उद्योग वरपरका बस्तिमा पाईपलाईन मार्फत ग्यास वितरण गर्ने समेत कम्पनीले जनाएको छ । उत्पादन थालेको ५ वर्ष सम्म घोराही उपमहानगरपालिकाले फोहोर सङ्कलन, ढुवानी गरिने २० वर्षपछि त्यस कम्पनीले चालू अवस्थामा घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता भएको छ । त्यसै गरी उत्पादनपछि कूल उत्पादनको एक प्रतिशत रोयल्टी रकम नगरलाई बुझाउनु पर्ने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्