मुख्य समाचार

मौसमविदको अनुमानभन्दा उल्टो मनसुनी वर्षा

By थाहा अनलाइन

July 31, 2017

सैघाली खबर काठमाडौँ, १६ साउन

चार महिनाअघि भुटानको थिम्पुमा भेला भएका दक्षिण एसियाली मौसमविद्ले यो वर्ष नेपालका सुदूर र मध्य भेगका जिल्लामा औसतभन्दा कम वर्षा हुने अनुमान गरेका थिए । उनीहरूको अनुमान थियो, ‘पश्चिम र मध्यपश्चिममा भन्दा मध्य र पूर्वी भागमा बढी वर्षा हुनेछ .

मनसुनका दुई महिनामा देशभर परेको वर्षाको तथ्यांक केलाउने हो भनेचाहिँ उनीहरूको अनुमान ठीक उल्टो देखिन्छ । पूर्वी भागका जिल्लामा भन्दा पश्चिम र मध्य भागकै जिल्लामा बढी वर्षा भएको छ ।

आगामी अगस्ट महिनामा पनि सुदूर र मध्यकै जिल्लामा बढी वर्षा हुने विश्लेषण जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्हरूको छ । मनसुनका जुन र जुलाई महिनामा सुदूरपश्चिमको डडेलधुरामा औसतभन्दा झन्डै दोब्बर वर्षा भएको छ । औसत ३२९।२ मिलिमिटर वर्षा हुनुपर्नेमा जुलाईको १ दिन बाँकी छँदै आइतबारसम्म ६३६।८ मिमि वर्षा भएको महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताइन् । दिपायलमा पनि त्यस्तै छ । औसत २३८।७ वर्षा हुनुपर्नेमा ३११।६ मिमि वर्षा भएको छ । धनगढीमा ५६५।९ वर्षा हुनुपर्नेमा ६३९।४ मिमि वर्षा भयो । सुर्खेतमा पनि औसतकै हाराहारी वर्षा भएको छ । औसत ४७१।९ वर्षा हुनुपर्नेमा ४३०।२ मिमि वर्षा भएको छ ।