मुख्य समाचार

सर्वोच्चको फैसलापछि भरतपुर १९ मा निर्वाचन प्रक्रियाबारे आयोगले छलफल शुरु गर्ने

By थाहा अनलाइन

July 31, 2017

 

सैघाली खबर साउन १६

सर्वोच्च अदालतले भरतपुर महानगरको १९ वडामा पुनः मतदान गर्न आदेश दिएपछि यसबारेमा आज निर्वाचन आयोगले छलफल गर्ने भएको छ । सर्वोच्चको आदेशपछि निर्वाचनको प्रक्रियालाई अघि बढाउने बारेमा आज फैसलाको पूर्ण पाठ हेरेर अगाडि बढ्ने आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले  जानकारी दिनुभयो । झण्डै दुई महिना लामो सुनुवाइपछि हिजो न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मतपत्र च्यातिएको वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गर्ने गरी मुद्दाको फैसला गरेको हो । भरतपुरमा मतगणना हुँदाहुँदै माओवादी प्रतिनिधिहरुले मतपत्र च्यातेपछि विवाद सुरु भएको थियो । विवादपछि मतगणना स्थगित भएको थियो । निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो । आयोगको त्यही निर्णयविरुद्ध पुनः मतदान होइन पुन मतगणनाको माग गर्दै भरतपुर–१९ का वडा सदस्य उम्मेदवार गुञ्जमान बिक र त्यही वडाका मतदातासमेत रहनुभएका अधिवक्ता तुलसीराम पाण्डेले जेठ २१ गते रिट दायर गर्नुभएको थियो ।