पछिल्लो समय वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्यामा कमी आएको छ । अझ भन्नु पर्दा स्थागत रुपमा वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्यामा निरन्तर कमी आइरहेको छ । श्रम बजारमा रोजगारी खोज्ने कामदारको संख्या बढे पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या भने ठूलो परिमाणमा घटेको छ ।
मलेसियासंग श्रम सम्झौताका विभिन्न बिषयमा सहमति भएपनि अझै कामदार पठाउन नसक्नु, साउदी अरब र कतारबाट राम्रो कामको डिमाण्ड नआउनु लगाएत कारणले वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्यामा कमी आएको छ । यस्तै श्रमको काम झण्झटिलो र स्वयम् व्यक्तिले नै गर्नुपर्ने भएकाले पनि सर्बसाधरण नागरिकको लागि यो एउटा समस्याको बिषय बनेको छ । जस्को प्रत्यक्ष्य असर नेपाल भित्रने रेमिट्यान्समा परेको छ ।
गतवर्ष कार्तिक महिनामा संस्थागत रुपमा २८ हजार ५ सय २२ जना युवा युवती वैदेशिक रोजगारीमा गएकोमा यस वर्षको कार्तिक महिनामा उक्त संख्या करिव ५८ प्रतिशतले कमी आई १२ हजार ११ जनामा सिमित भएको छ । यो संख्या गत असोजको तुलनामा करिव–करिव ५ हजारले कम हो ।
गत असोज महिनामा १७ हजार ७ सय ७७ जना कामदार संस्थागत रुपमा वैदेशिक रोजगारीमा गएका थिए । कार्तिक महिनामा संस्थागत, रिइन्ट्री व्यक्तिगत, तथा वैधानिकीकरण गरी ३७ हजार २ सय ४३ जना कामदार वैदेशिक रोजगारीमा गएका छन् । त्यसमध्ये रिइन्ट्रीका माध्यमबाट जानेको संख्या संस्थागत रुपमा गएका कामदारको तुलनामा करिव दोब्बर २२ हजार ८ सय १ जना रहेका छन् ।
कार्तिक महिनामा यस आर्थिक वर्षका अघिल्ला महिनामा जस्तै सबै भन्दा बढी नेपाली कामदार कतार गएका छन् । मलेसिया रोजगारी बन्द भएपछि कतार जानेको संख्या सबैभन्दा बढी देखिएको हो । मासिक करिव १२ हजार कामदार जाने मलेसियामा कार्तिक महिनामा एक जना पनि गएनन् ।
वैदेशिक रोजगार विभागले तयार पारेको तथ्यांक अनुसार कार्तिकमा ४ हजार ६ सय ६ जना कतार गएका छन् । कतारपछि युएई दोश्रो आकर्षक गन्तव्यका रुपमा देखिएको छ । कार्तिक महिनामा ३ हजार ८ सय ८४ जना यूएई गएका छन् । तेश्रो स्थानमा रहेको साउदी अरब जाने कामदारको संख्या १ हजार ७ सय २३ रहेको छ । आर्थिक मन्दीपछि आरालो लागेको साउदी जाने क्रम कार्तिक महिनामा पनि सुधार आउन सकेको छैन ।
कार्तिक महिनामा कुवेत जानेको संख्या ७ सय ६८ रहेको छ भने बहराईन जानेको संख्या ३ सय १५ रहेको छ । कार्तिकमा टर्कीमा २३ जना, पोल्याण्डमा २६ जना, ओमनमा १ सय १ जना, जोर्डनमा १ सय १२ जना, माल्दिभ्समा १ जना, मकाउमा ६४ जना र हङकङमा ११ जना गएका छन् ।
त्यस्तै, कार्तिकमा रोमानियामा ३१ जना गएका छन् भने जापानमा १५ जना, पोर्चुगल २६ जना, पानामामा १ जना गएका छन् । कार्तिकमा माल्टा जानेको संख्या ४८ रहेको छ । कार्तिक महिनामा व्यक्तिगत श्रम स्वीकृतिमा ६ सय ५२ जना, वैधानिकीकरणका माध्यमबाट १ हजार ७ सय ७९ जना गएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।